नेपाली सेनाको टोली विश्वप्रख्यात अभ्यासका लागि सोमबार लन्डन आइपुग्ने
लन्डन । नेपाली सेनाको टोली विश्वकै प्रख्यात एक अभ्यासका लागि ९ सेप्टेम्बर सोमबार लन्डन आइपुग्ने भएको छ ।
नेपाली सेनाका १० जनाको टोली संयुक्त अधिराज्य बेलायतको वेल्सस्थित ब्रेकनमा हुने ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल २०२४’ मा सहभागी हुन आउन लागेको हो ।
उक्त अभ्यास अक्टोबर ४ देखि १३ सम्म चल्नेछ ।
यो ब्रिटिश सेनाको प्रमुख पट्रोल इभेन्ट मानिन्छ जुन मुख्यालय १६० औं वेल्स ब्रिगेडले आयोजना गरेको हो ।
गत वर्ष २०२३ मा ११३ टिमले यस अभ्यासका लागि आवेदन दिएका थिए, जसमध्ये ३८ वटा टिम अन्तर्राष्ट्रिय थिए ।
ब्रिटिश सेनाले यसको उद्देश्य परिचालन क्षमता बृद्धि गर्न चुनौतीपूर्ण विश्वस्तरिय गस्ती अभ्यास प्रदान गर्नु रहेको जनाएको छ ।
क्याम्ब्रियन पट्रोल आवेदन छनोट भएका सबै तीन सेवा (नियमित र रिजर्भ बल) एवं विदेशी सैन्य एकाइहरुबीच वार्षिक रुपमा सञ्चालन गरिन्छ ।
अभ्यास ४८ घण्टाका दरले आठ चरणमा १० दिनसम्म हुनेछ । प्रत्येक गस्तीले लगभग ६० किलोमिटर (औसत आरोहण र अवतरण एक हजार मिटर बढी) कभर गर्नेछ र प्रति व्यक्तिले ३५ किलो तौल बोक्नेछन् ।
अभ्यास ज्यादै कठोर हुने भएकाले सबै सहभागी मानसिक र शारीरिक दुवै रूपमा चुनौती सामना गर्न तयार हुनुपर्ने ब्रिटिश सेनाको भनाइ छ ।
गत वर्ष नेपाली सेनाले यो अभ्यासमा रजत पदक जितेको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५