शुक्रबार, भदौ २८, २०८१
04:56 | ०९:४१

बेलायतमा आत्महत्या गरेकी विनिताको शव नेपाल पठाउन सहयोग जुटाइंदै

नेपाली लिङ्क अगस्ट ३०, २०२४


लन्डन- केही दिनअघि बेलायतमा आत्महत्या गरेकी विद्यार्थी विनिता चौलागाईंको शव नेपाल पठाउने उद्धेश्यले सहयोग जुटाउन थालिएको छ ।

गत २६ अगष्ट सोमबार बेलायतको बर्मिङहममा मृत भेटिएकी उनको शव पठाउन उनका साथीभाइको पहलमा गोफन्डमीमार्फत् सहयोग संकलन शुरु गरिएको हो ।

गोफन्डमी पेजमा उनका साथीहरुले जनाएअनुसार बारा निजगढकी २२ वर्षीया विनिता उच्च शिक्षा अध्ययनका लागि गत वर्ष मात्रै बेलायत आएकी हुन् । उनी युनिभर्सिटी कलेज बर्मिङहममा ब्याचेलर डिग्रीमा अध्ययनरत थिइन् ।

परिवारको आर्थिक अवस्था सामान्य रहेपनि बेलायत आउँदा लिएको २५ लाख रुपैंया ऋणको बोझ विनितामाथि रहेको साथीहरुले बताएका छन् । त्यसमाथि पढाइको दबाब र परिवारदेखि टाढा हुंदाको एक्लोपनले सताउँदै जाँदा उनी बिस्तारै डिप्रेसनमा पुगेकी थिइन् ।

विनिताको असमायिक मृत्युबाट विक्षिप्त नेपालस्थित परिवारले उनको शब नेपालमै पुर्‍याएर अन्त्येष्टी गर्न चाहेका तर त्यसका लागि आर्थिक समस्या पर्ने भएपछि साथीहरुले सहयोग संकलन शुरु गरेको बताएका छन् ।

६ हजार पाउण्ड उठाउने लक्ष्य राखिएकोमा शुक्रबार दिउँसोसम्म आधा रकम जम्मा भइसकेको छ।

विनिताको शव उनको परिवारसम्म पुर्‍याउने कार्यमा सहयोग गर्न गोफन्डमीको पेजमा जान यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू