आइतबार, ६ जुलाइ, २०२५
00:53 | ०५:३८

लन्डनका नेपाली युवा गाउँको शिक्षा र स्वास्थ्यमा सघाउन गर्दैछन् साइकल यात्रा

नेपाली लिङ्क अगस्ट २७, २०२४

लन्डन – लन्डनको वित्तीय क्षेत्रमा काम गर्ने एक युवाले सुदूर पश्चिम नेपालस्थित आफ्नो गाउँमा शिक्षा र स्वास्थ्यमा सघाउन तिब्बतको ल्हासादेखि सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा गरिरहेका छन्।

दार्चुला जिल्लाको विकट देथलामा जन्मिएका दिनेश पालले आफ्नो गाउँमा हरेक बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पाउन् भन्ने सुनिस्चित गर्नुका साथै दीगो कृषि प्रणालीको विकास गर्न १००० किलोमिटर लामो उक्त साहसिक यात्रा सुरु गरेको बताए।

“यात्राको क्रममा ४,५०० देखि ५,२०० मिटरसम्म साइकल यात्रा गर्ने काम शारीरिकरुपमा चुनौतिपूर्ण भए पनि आफ्ना गाउँलेहरुको माया र साथी तथा शुभेच्छुहरुको सद्भावका कारण यात्रा जारी राख्न मलाई उत्प्रेरणा मिलेको छ,”- सामाजिक संजाल लिंकडइनमा आफ्नो यात्राको विवरण अद्यावधिक गर्दै उनले भने।


हेल्प नेपाल नेटवर्क तथा लायन्स क्लब अफ काठमाडौँ क्लियोपेट्रासंगको सहकार्यमा आयोजित यात्राबाट उनले पांच हजार पाउन्ड (झन्डै साढे आठलाख रुपियाँ) जुटाउने लक्ष लिएका छन्।

हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठले भने, ‘हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्दै आएका छौं। दिनेशजीले सुरु गर्नु भएको यो मानवीय कार्यमा जोडिन पाउँदा हामी निकै हर्षित छौं।’

हेल्प नेपाल नेटवर्क यूकेले यो लिंकमा गएर सक्दो सहयोग गर्न पनि बेलायतस्थित सबै नेपाली संघसंस्था तथा जनसमुदायलाई आग्रह गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू