शुक्रबार, भदौ २८, २०८१
06:07 | १०:५२

पर्वत वेल्फेयर सोसाइटी यूकेले बाँड्यो डेढ सय विपन्न विद्यार्थीलाई सहयोग

नेपाली लिङ्क अगस्ट १३, २०२४

लन्डन-पर्वत वेल्फेयर सोसाइटी यूकेले पर्वतका डेढ सय विपन्न तथा जेहन्दार बालबालिकालाई शैक्षिक साम्रगी सहयोग गरेको छ ।

गत महिना बेलायतमा आयोजना गरिएको च्यारिटी कार्यक्रमबाट संकलित रकमबाट जिल्लाका विद्यार्थीहरुलाई सहयोग वितरण गरिएको हो ।

पर्वतको जलजला गाउँपालिकाको फर्से धाइरिङ मावि, कृष्णभवन धर्म मावि, शालिजा मावि र ग्रामप्रकाश मावि लेखफाँटका ४४ जना र विहादी गाउँपालिकाका विद्यालयका ११५ जना आर्थिक अवस्था अत्यन्त कमजोर तथा जेहान्दार विद्यार्थीलाई स्टेशनरी, पोशाक, झोला वितरण गरिएको सोसाइटीले जनाएको छ ।

नेपाल भ्रमणमा रहेका अन्तराष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष एवम् पर्वत वेल्फेयर सोसाइटी यूकेका पूर्वअध्यक्ष दधि आचार्यले साम्रगी हस्तान्तरण गरेका हुन् । सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य माननीय रेखा गुरुङ, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, बिहादी गाउँपालिका अध्यक्ष प्रबिन गुरुङ लगायतको उपस्थिति थियो ।

सो सहयोग हस्तान्तरणपछि सोसाइटीका पूर्व अध्यक्ष आचार्यले विद्यालयले छनौट गरेका विद्यार्थीलाई सहयोग वितरण गरिएको जनाउंदै आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिने बताए ।

उनले व्यापार, रोजगारी र विभिन्न पेशाका क्रममा यूकेमा रहेका पर्वतबासीले जन्मभूमिा आवश्यकता परेका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गरे ।

पर्वत वेल्फेयर सोसाइटी यूकेकी अध्यक्ष अप्सरा गुरुङले च्यारिटी कार्यक्रमको लक्ष्यअनुसार नै विपन्न बालबालिकालाई सहयोग वितरण गरिएको जानकारी दिइन् । उनले च्यारिटी कार्यक्रम सफल पार्न योगदान गर्ने सबैलाई फेरि धन्यवाद दिइन् ।

यसअघि गत जुलाई पहिलो साता बेलायतमा च्यारिटी कार्यक्रम गरी सोसाइटीले झण्डै २० लाख रुपैया जुटाएको थियो । उक्त कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष सुरज पौडेलले गरेका थिए ।

सन् २००३ मा स्थापना भएको संस्थाले दृष्टिविहिन विद्यार्थीलाई अक्षय कोषसहित शिक्षा, स्वास्थ्य, बाढीपहिरोबाट विस्थापित लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू