आइतबार, भदौ २३, २०८१
07:08 | ११:५३

सामुदायिक पार्क रनमा बेक्सली नेपाली समाजको उदाहरणीय कार्यक्रम

नेपाली लिङ्क अगस्ट २, २०२४


लन्डन – ‘रन फर फन एण्ड रन लाइक वन’ भन्ने मूल नाराका साथ बेक्सली नेपाली समाजले ५८०औं पार्क रन गरेर बेलायतमा रहेका नेपाली समुदायले गर्न सक्ने उत्कृष्ट कार्यक्रमको उदाहरण प्रस्तुत गरेको छ।

दक्षिणपूर्वी लन्डनको वेलिङस्थित डान्सन पार्क आफैंमा एक प्रसिद्ध पार्कका रूपमा चिनिन्छ। साथै, साप्ताहिक रूपमा प्रत्येक शनिबार बिहान ९ बजे आयोजना हुने ५ किलोमिटर दौड प्रतियोगिता र यसमा सहभागी हुने ५०० भन्दा बढी धावकको संख्याले यस पार्कको गरिमा झन् विशेष बनाएको छ। त्योभन्दा विशेष, यसपटकको पार्क रनमा बीएनसीका ५० भन्दा बढी स्वयंसेवकको योगदानले कार्यक्रम रौनक अझै बढायो।

बालबालिका, महिला र नेपालबाट आएका पाहुनाहरुको पनि उल्लेखनीय सहभागिताले कार्यक्रम परिवारमैत्री र समावेशी उत्सव बनायो।

बीएनसीका अध्यक्ष डा. हरिश ज्ञवाली र अन्य कार्यकारी सदस्यहरूको उपस्थिति रहेको यो कार्यक्रमले बेक्सली नेपाली समाजको महत्तालाई झन् गर्विलो बनाएको छ।

यो इभेन्टमा बीएनसीले परम्परागत नेवारी धिमे बाजा प्रस्तुत मात्र गरेन, बाजाको लयले धावकहरूलाई दौड्नका लागि थप ऊर्जा प्रदान गर्‍यो र उत्सवको माहोल थप रमाइलो बनायो।

दर्शकहरू र सहभागीहरूले धिमे बाजाको प्रस्तुतिबाट विशेष आनन्द पाए, जसले बिहानको दौडलाई जीवन्त बनाएको भन्दै उपस्थित सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए।

बीएनसीका स्वयंसेवकहरूले दौडको अन्त्यमा सबै धावकहरूलाई पानी, फलफूल र मिठाई वितरण गरेर सहभागीहरूबीच एकता र सद्भावना बढाउने काम गरे ।

‘रन डाइरेक्ट’ नामक संस्थाले प्रत्येक शनिबार आयोजना गर्ने पार्क रनको व्यवस्थापन यसपटक बेक्सली नेपाली समाजको तर्फबाट दिनेश पौड्यालले गरेका थिए भने ‘रन डाइरेक्ट’को तर्फबाट ग्राहमले रन म्यानेजरको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

संगीत, नृत्य र नेपालीहरूको उल्लेखनीय उपस्थितिले यसपटकको दौड प्रतियोगिता विशेष एवं ऐतिहासिक बनाएको छ।

बीएनसीको योगदानले स्वयंसेवक भावना मात्र नभई नेपालको समृद्ध सांस्कृतिक धरोहरलाई पनि प्रस्तुत गर्‍यो, जसले सबै सहभागीहरूको मन जित्न सफल भएको ठानिएको छ ।

यो इभेन्टले सामुदायिक सहयोग र सांस्कृतिक उत्सवको महत्वलाई उजागर गरेर पार्करनको इतिहासमा एक महत्वपूर्ण अध्यायको रूपमा मानक प्रस्तुत गरेको समाजका सचिव हिमाल गुरुङले बताएका छन्।

यस्तै प्रकारका थप कार्यक्रम गरेर बृहत नेपाली समाज र स्थानीय जनमानसलाई संगठित गर्न सकेमा मात्र बेक्सली नेपाली समाजको स्थापनाको उद्धेश्य हासिल हुने धारणा समाजका सल्लाहकारले राखेका थिए।

-दिनेश पौड्याल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू