बिहीबार, साउन ३, २०८१
18:22 | २३:०७

बेलायतका नयाँ प्रधानमन्त्रीले गरे परिवर्तनको वाचा

नेपाली लिङ्क जुलाइ ५, २०२४

लन्डन । बेलायतमा लेबर पार्टीका नेता किअर स्टार्मर प्रधानमन्त्री बनेका छन् । बिहीबार सम्पन्न संसदीय निर्वाचनमा विपक्षी लेबर पार्टीले ४१२ सिटसहित भारी वहुमत प्राप्त गरेको छ । 

सत्तारुढ कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै लेबर सत्तामा आएको हो । 

लेबरका अन्तिम निर्वाचित प्रधानमन्त्री सर टोनी ब्लेयरको लिडरसीपमा उक्त पार्टीले सन् १९९७ मा ऐतिहासिक ४१८ सिट जितेको थियो ।

लेबर नेता किअर स्टार्मर बेलायतको नयां प्रधानमन्त्री बनेका छन् । 

यसपटक लज्जास्पद हार बेहोरेको सत्तारुढ कन्जरभेटिभ नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार बकिङ्घम प्यालेसमा राजा चार्ल्ससमक्ष आफ्नो राजिनामा बुझाएपछि राजाले स्टार्मरलाई प्रधानमन्त्री नियुक्त गर्दै अर्को सरकार बनाउन आमन्त्रित गरेका थिए ।

प्रधानमन्त्रीको नियुक्ति लिएपछि स्टार्मरले टेन डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्री कार्यालय गएर राष्ट्रका नाममा सम्बोधन गरे ।  

‘हाम्रो काम अत्यावश्यक छ । हामी आजबाटै सुरु गर्छौं,’ उनले भने, ‘परिवर्तनको काम तुरुन्तै सुरु हुन्छ । यद्यपि स्विच क्लिक गर्नु जत्तिकै सरल भने हुने छैन।’

उनले देशमा अवसरको पूर्वाधार इट्टा-इट्टाले पुनर्निर्माण गर्ने वाचा पनि गरे ।

निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित भएका छन् । सरकार बनाउन ३२६ सिट आवश्यक हुन्छ । 

सत्तारुढ कन्जरभेटिभ (टोरी) ले पार्टी इतिहासमै सबैभन्दा नराम्रो पराजय भोगेको छ जसले १२१ सिटमात्र जित्यो । टोरीले ५ बर्ष अघिको तुलनामा २५१ सिट गुमाएको छ । सन् २०१९ को आमनिर्वाचनमा कन्जरभेटिभले ३६५ सिट ल्याएको थियो ।

लिबरल डेमोक्य्राटले ७२ सिट जितेको छ । उक्त पार्टीले अघिल्लो निर्वाचनभन्दा ६४ सिट बढाएको हो ।

उता स्कटिश नेशनल पार्टी (एसएनपी) ले ९ सिटमा मात्र चित्त बुझाउनु परेको छ । अघिल्लो चुनावभन्दा यसपटक एसएनपीले ३९ सिट गुमाएको छ ।  

सिन फेनले ७, इन्डिपेन्डेन्ट ६, डेमोक्य्राटिक यूनिअनिस्ट पार्टी ५, रिफर्म यूके ५ सिट, प्लेड क्यामरु ४, ग्रीन्स ४, सोसल डेमोक्रेटिक एण्ड लेबर पार्टीले २, अलाइन्स पार्टी १, अल्सटर युनिअनिष्ट पार्टी एक र ट्रेडिसनल युनिअनिष्ट भ्वाइसले एक सिट जिते ।

आफ्नो पार्टीले प्रचन्ड वहुमत प्राप्त गरेपछि स्टारमरले समर्थकहरूको भीडलाई भनेका थिए- “हामीले शुरु गर्‍यौं, तपाईंले यसका लागि प्रचार गर्नुभयो, तपाईं यसका लागि लड्नुभयो, तपाईंले यसलाई भोट गर्नुभयो र अब यहाँ आइपुग्यो, अब परिवर्तन सुरु हुन्छ।”

नयां बेलायती प्रधानमन्त्री स्टार्मर को हुन् ?

दक्षिणी इङ्गल्याण्डको एउटा सानो शहरका वासिन्दा स्टार्मर पूर्व अभियोजक र मानवअधिकार वकिल हुन् । स्टारमर सन् २००८ मा ‘पब्लिक प्रोसिक्यूशन्स’ का निर्देशक तथा ‘क्राउन प्रोसिक्यूशन सर्भिस’का प्रमुख नियुक्त भएका थिए।

६१ वर्षीय स्टार्मर राजनीतिमा लागेको केवल नौ वर्षमात्र भएको छ । उनी सन् २०२० अप्रिलमा लेबर नेता बनेका थिए । 

उनी पहिलोपटक २०१५ मा ५२ वर्षको उमेरमा सांसद निर्वाचित भएका थिए । उनी हल्बोर्न एण्ड सेन्ट प्यानक्रियाज निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् जहाँ उनी आफ्नो परिवारसँग धेरै वर्ष बसे । 

स्टार्मरका बुबा एक मौन अधिनायकवादी उपकरण निर्माता (टुल मेकर) थिए । अखवारहरुका अनुसार स्टामरले आफ्नो बुबाको व्यापारबारे सुनाउंदा राजनीतिक वर्ग र कहिलेकाहीं मतदाताहरूले खिल्ली उडाउने गरेको सार्वजनिक रुपमै बताउने गरेका छन्। 

उनकी आमा नेशनल हेल्थ सर्भिस (एनएचएस) की एक नर्स थिइन् । आमा जीन्दगीभर जसो बिरामी हुंदा स्टार्मरले नै रेखदेख गर्थे । बाबु आमाले उनको नाम लेबर पार्टीका पहिलो नेता केयर हार्डीको नामबाट राखेका थिए ।

उनको विद्यालयमा उत्कृष्ट प्रदर्शन हुन्थ्यो । उनले बाँसुरी बजाउने र फुटबल खेल्ने गर्दथे । उनका दाजुभाईले उनलाई ‘सुपरब्वाय’ भनेर बोलाउने गर्दथे ।

किन रूचाए मतदाताले ? लेबरको घोषणापत्र यस्तो छ:

विद्यमान आयकर दर, नेशनल इन्सुरेन्स वा भ्याटमा कुनै वृद्धि नगर्ने वाचासहित देशमा आर्थिक स्थिरता प्रदान गर्ने, सप्ताहन्त र साँझ काम गर्न कर्मचारीहरूलाई बढी तिरेर हप्तामा ४० हजार थप अपोइन्टमेन्टसहित नेशनल हेल्थ सर्भिसमा पालो कुर्नु पर्ने समय घटाउने, गैर कानुनी रुपमा मानव तस्करी रोक्न सीमा सुरक्षा कमाण्ड बनाउने, ६ हजार ५ सय थप शिक्षक भर्ती गरि इङ्गल्याण्डको प्रत्येक प्राथमिक विद्यालयमा निःशुल्क ब्रेकफास्ट क्लब व्यवस्था गर्ने, इङ्गल्याण्ड र वेल्समा १३ हजार थप प्रहरी र कम्युनिटी सपोर्ट अफिसर थपेर ‘एन्टी सोसल’ व्यवहार रोक्ने, चक्कु अपराध नियन्त्रण, म्याचेट्स, जोम्बी चक्कु र तरवारहरूको खरिद विक्रीमा कडा प्रतिबन्धसहित उर्जा बिल घटाउने, क्लिन इनर्जीमा लगानी गरि रोजगारी सिर्जना जस्ता वाचा उसका घोषणापत्रमा उल्लेख छन् । 

कन्जरभेटिभ नेताहरुले पहिले आफ्नो पार्टीलाई मतदान गर्ने ठूलो संख्याका मतदाताले सुधारका लागि मतदान गरेको स्वीकारेका छन् । उनीहरुले कन्जरभेटिभले अब फेरि समर्थन जित्न गम्भीर भएर सोच्नुपर्ने पनि बताए। 

पराजयपछि सुनकले समर्थकहरूलाई भने- ‘बेलायतका जनताले आज राती एक गम्भीर फैसला सुनाए, त्यसबाट धेरै सिक्नु छ र म हारको जिम्मेवारी लिन्छु।’ उनले आजै राजिनामा दिए । 

कन्जरभेटिभ पराजयको प्रमुख कारण उक्त्त दलमा बारम्बार नेता परिवर्तन हुनु र दलभित्रको अस्थिर राजनीति, निर्वाचन र त्यसपछि गरेका वाचा एवं आफ्ना नीति कार्यान्वयन गर्न नसक्नु तथा देखिने गरि जनताको स्तर, देशको अवस्था र अर्थतन्त्रमा अपेक्षित परिवर्तन गर्न नसक्नु रहेको लेबर पार्टीबाट सांसद उम्मेदवार भइसकेका डा. बच्चु कैलाश कैनीको बुझाइ छ ।  

सन् २०१९ को आम निर्वाचनपछि उक्त्त दलमा तीन पटक नेता फेरिए। जनता संधै स्थिर राजनीति र सरकारको पक्षमा हुन्छन्।

कुल आप्रवासी संख्या हजारको संख्यामा मात्रै सिमित राख्ने भनिएकोमा नेट माइग्रेसन वा कुल आप्रवासी संख्या डिसेम्बर २०२३ मा ६ लाख ८५ हजार पुगेको थियो। आप्रवासी नीति घटाउने उनको नीति पूर्ण असफल भयो । 

त्यस्तै, एनएचएसमा पनि नीतिमा लेखे अनुसार प्रगति हुन सकेन। अर्थतन्त्र, दैनिक जनजिवीकाको सवालमा पनि टोरी चुकेको मतदाताले बुझे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू