शनिबार, कार्तिक १०, २०८१
15:55 | २०:४०

लन्डनमा २३ वटा सुसी आउटलेट चलाउंछन् ३७ वर्षीय नेपाली युवा (भिडियो)

नेपाली लिङ्क जुन १५, २०२४


लन्डन । बेलायतले अध्यागमन नीति निकै खुकुलो गरेपछि यहां अन्तर्राष्ट्रिय विद्यार्थीको बाढी नै आयो । नेपालबाट पनि हजारौं विद्यार्थी ओइरिए ।

त्यही टियर फोर भीडमा दोलखाका छोङ नोर्बु शेर्पा पनि लन्डन हानिए १५ वर्षअघि । वि.सं. २०६१ मा एसएलसी दिएर काठमाडौं झरेका थिए उनी । १२ सकेर ब्रिटिश लाहुरे हुन ‘ट्राइ’ गरे तर सफल भएनन् । अष्ट्रेलिया जाने भनेर आइइएलटिएस् गरे, त्यो पनि नियम परिवर्तन भएपछि कन्सल्टेन्सीले नै आवेदन निकाल्न भन्यो ।

यूकेले टियर फोर नीति ल्याएपछि सन् २००९ जुलाईमा उच्च शिक्षा लिन नेपालीकै कलेजमा लन्डन आएका थिए छोङ नोर्बु । 

उनले शुरुका दिन निकै संघर्ष खेपे । आउने बित्तिकै झण्डै ८ महिना त काम नै पाएनन् । काम नहुंदा साथीहरुबाट ऋण लिएर बांच्नु परेको थियो । पछि कोशौं टाढा नर्थ हयाम्पटन गएर काम थाले नेपाली रेष्टुरेन्टमा ।

हप्तामा ४ दिन काम गरेर ८० पाउण्ड कमाइ हुन्थ्यो । त्यो पनि लन्डन प्लमस्टिडबाट त्यति टाढा जानुपर्दा आम्दानीभन्दा खर्च बढी थियो ।

लन्डन आएको अर्को वर्ष अप्रिलदेखि साथीमार्फत सुसी सेफका रुपमा काम पाए उनले । लामो बेरोजगारीको पीडाबीच दुई रात नसुती निरन्तर काम पनि गरे । दुईवटा काम गर्दै पढाइ व्यवस्थापन सहज थिएन ।

सोमबार र मंगलबार कलेज थियो । म्यारिटाइम ग्रीनीच कलेज (पछि साउथ लन्डन कलेज ट्रान्सफर) मा आइटी पढ्न आएका उनले कलेज बन्दको तनाव पनि झेले । पछि आइटी कोर्ष परिवर्तन गरेर विजनेश म्यानेजमेन्ट लिए ।

कोर्स र कलेज फेरि परिवर्तन भयो । सन् २०१५ अन्तिमतिर वेष्ट मिनिष्टर कलेजबाट हस्पिटालिटी म्यानेजमेन्टमा पोष्ट ग्रयाजुएट गरेपछि उनको पढाइले विश्राम लियो र व्यवसायले गति लियो ।

अहिले ३७ वर्षीय छोङ नोर्बुको स्टाटस, कमाइ, जीवनशैली लोभलाग्दो गरि परिवर्तन भएको छ । उनी सफल सुसी व्यवसायीका रुपमा परिचित छन् ।

छोङको इरो (जापनीज अर्थ कलरफुल) सुसीको २३ औं शाखा यही १३ जुनमा उद्घाटन भएको छ ।

छोङले सन् २०१४ मा शुरु गरेको इरो सुसी अहिले २३ औं शाखासम्म पुगेको छ

सन् २०१४ मा क्ल्यापहाम जङ्सनमा पहिलो इरो सुसी खोलेका थिए उनले । इन्डष्ट्रियल एरियामा एउटा स्यान्डवीच किचन थियो, त्यसले होटल वा एयरलाइन्स्लाई स्यान्डवीच सप्लाइ गर्ने गर्दथ्यो । त्यही किचन सांझ ५ देखि १० बजेसम्म चलाउंथे छोङ । बिहान अन्त काम गर्ने, बेलुका सुसी बनाएर अनलाइनबाट बेच्ने गर्थे उनी । दुई जना कामदार र ड्राइभर पनि थिए ।

उक्त व्यवसाय जम्मा ५ हजार पाउण्डजति लगानीमा शुरु भएको थियो । व्यवसाय राम्रो चल्दै गएपछि उनले सन् २०१५ मा हाइस्ट्रिटमा इरो सुसी खोले ।

इरो सुसी फाष्टफुड र क्यूएसआर (क्वीक सर्भिस रेष्टुरेन्ट) विजनेश मोडलमा सञ्चालत छ । थोरै सिटिङ, अर्डर गर्न सेल्फ सर्भिस् र होम डेलिभरी व्यवस्था पनि छ यहां ।

पहिलो सुसी खोलेपछि अलिअलि वचत भएर दोश्रो शाखा सन् २०१८ मा फुलहाम र केही महिनाको अन्तरालमा तेश्रो आउटलेट ग्रीनवीचमा खोले । चौथो टावर ब्रीजमा खुल्यो ।

फुलहाम र टावर ब्रीज आउटलेट छोङको आफ्नै स्वामित्वमा छ भने ग्रीनवीच शाखा संगै काम गरेको साथीलाई लगानी गरिदिएर खोलिदिएका थिए । यसपछिमात्र फ्रेन्चाइज ज्ञान प्राप्त भएको उनी बताउंछन् ।

ग्रीनवीचबाट शुरु भयो उनको फ्रेन्चाइज कन्सेप्ट । ‘शुरुमा फ्रेन्चाइज के हो थाहा नै थिएन । किताब पढ्ने, यूट्युब हेर्ने गरेर यसबारे जानकारी लिएं’, उनी भन्छन् ।

कोभिड महामारीमा झन् बिजी भए उनका सुसी रेष्टुरेन्ट । खुलेयता कुनै पनि शाखा बन्द भएका छैनन् ।

कोभिडका बेला हाइगेट, साउथ नरवुड र दुई तीन महिनाको अन्तरालमा वेलिङ, पर्ली, क्यामडेन, स्ट्राटफोर्ड, रेडिङ, स्लाओ, क्रोयडन, डार्टफोर्ड, पाल्मर्स ग्रीनमा थपिए इरो ।

ब्रम्ली, चिङफोर्ड, अर्पिङटन, सिडकप, स्टक न्यूवीङटन, उलवीच, एल्थाम, पेन्ज नयां हुन् ।

लन्डनबाहिर मेडस्टोन, क्यान्टबरी, वाटफोर्ड, क्यामब्रीज, पिटरबरो र ब्राइटनमा समेत खोल्ने तयारी छ । वर्षमा १० वटा शाखा बनाउने टार्गेट अनुसार काम भइरहेको छोङ बताउंछन् । संयुक्त अधिराज्य (यूके) को चारै राज्यमा पुग्ने लक्ष्य उनमा छ ।

अर्को वर्षदेखि पहिलो लटमा अमेरिका र युरोपमा ब्रान्च खोल्ने योजना बनाइएको छोङले सुनाए । अमेरिका बिग मार्केट भएकाले यो उनका लागि परीक्षा पनि हुनेछ । मातृभूमि नेपाल लान भने अलिक कठिनाइ भएको उनी बताउंछन् ।

छोङका भनाइमा दुई मोडलमा चालु छ विजनेश । एउटा उनी सँग पार्टनरशीपमा लगानी गर्ने र अर्को चाँहि १०० प्रतिशत आँफै लगानी गरेर चलाउने । 

अनुभवी सुसी सेफहरु, रेस्टुरेन्ट व्यवसायीहरु कोही छन् भने ‘राइट क्यान्डिडेट’ लाई फाइनान्स पनि उपलब्ध गराएर पार्टनरशीपमा विजनेश चलाउन र कोही लगानी मात्र गर्न चाहन्छन् भने पनि आफूसँग मिलेर फ्रेन्चाइजी चलाउन सकिने छोङले बताए । 

तर, कसैले १०० प्रतिशत लिन चाहन्छन् भने फ्रेन्चाइजी फि र टर्नओभरमा ५ प्रतिशत रोयल्टी तिर्नुपर्ने उनी बताउंछन् ।  

यो वेवसाइटबाट धेरै जानकारी लिन सकिन्छ । इरोको फ्रेन्चाइजी धेरै नेपाली नै छन् । उनले कति जनालाई ऋण नै दिएर पनि व्यवसाय शुरु गरिदिएका छन् ।

लगभग एकलाख पाउण्ड लगानी गरे सबै ‘सेटअप’ हुने उनले बताए ।

अरुले फ्रेन्चाइज लिए रिसर्चसंगै लोकेशन छनोट गरि प्रोपर्टी लिएर सेटअप गरिदिने, एड्मिन, लिगल, अकाउण्ट, मार्केटिङ आदि व्यवस्था गरिदिने पनि छोङले सुनाए ।

‘हाम्रो प्रोपर्टी सर्च गर्ने र रिक्रुटमेन्टको बेग्लाबेग्लै टिम छ । छिट्टै मेन्टेनेन्सदेखि बनाउनेसम्म इन हाउस स्टाफ राख्ने योजना बनाइरहेका छौं’, उनले भने, ‘सर्भिस्, क्वालिटी, व्यवस्थापन र स्टाफ राम्रो भए विजनेश नचल्ने कुरै छैन ।’

क्वालिटीमा कुनै सम्झौता नहोस् भनेर इरोले आफ्नो नोमिनेटेड सप्लायरका सामग्रीमात्र बेच्ने गरेको छ ।

फ्रेन्चाइज मोडल ९८ प्रतिशत सफल हुने दावी छोङको छ । ‘आफू एक्लेलै सोलो विजनेश गर्दा धेरै असफल भएका पाइएको छ तर फ्रेन्चाइज सबैले राम्रो अपरेट गरिरहेका छन्’, उनले सुनाए ।

इरोमा अहिले दुईसय बढी काम कामदार गर्छन्, आधाभन्दा बढी नेपाली छन् । टर्नओभर मासिक १५ लाख पाउण्ड र वार्षिक करिब १८ मिलियन पाउण्ड हुने छोङले गर्वसाथ बताए ।

उनको व्यवसायिक सफलताको रहस्य के छ ? भन्छन्, ‘मुख्यतः कमिटमेन्ट, इमान्दार र कडा परिश्रम हुनुपर्छ । लक भन्या त निरन्तर काम गर्दा पाउने अवसर हो ।’

आफूले व्यक्तिगत रुपमा लोकेशन खोज्दा वेष्ट लोकेशन नपाउने भएकाले प्राइम लोकेशनमा ‘एक्सक्ल्यूसिभ एक्सेस’ का लागि अहिले प्रोपर्टी विजनेश पनि शुरु गरेको छोङले सुनाए ।  उनी भविष्यमा शैक्षिक क्षेत्रमा च्यारिटी गर्न चाहन्छन् ।

कष्टकर वाल्यकाल 

सन् १९८७ जुलाईमा जन्मिएका छोङको पुख्र्यौली घर दोलखा जिल्लास्थित बिगु गाउंपालिका, चिलंखा हो । नोर्बुको वाल्यकाल निकै कष्टकरसंग बितेको थियो । नुन तेल चामल, किन्न दुई दिनसम्म हिंडेर कि खासा कि त चरिकोट आउनुपर्दथ्यो । स्कुल पुग्न दुई घण्टा हिंड्नु पर्दथ्यो । विलासिता भन्ने थिएन ।

घरमा चौंरी पालिएको हुन्थ्यो, परिवार छुर्पी बनाउथे, उनी त्यही पेशामा परिवारलाई सघाउंथे ।

अहिले छोङको परिवार काठमाडौं कपन बस्छन् । बाबा तेन्जेन शेर्पा, आमा साङ्मो र बहिनी काठमाडौं कपनमा छन् । भाइ अष्ट्रेलिया र एउटी बहिनी बेलायतमै बस्छिन् ।

छोङ हाल श्रीमति दिचेन्ला लामा र बालबच्चाका साथ ग्रीनवीच, लन्डनमा बस्छन् । ताप्लेजुङ स्थायी घर भएकी दिचेन्लाको फूल सपोर्टले पनि व्यवसाय सफल भइरहेको उनी बताउंछन् । 

हेरौं इरो सुसी र छोङ शेर्पाको चमत्कारिक व्यवसायिक सफलताबारे नेपाली लिंकको भिडियो रिपोर्ट:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू