शनिबार, कार्तिक १०, २०८१
15:55 | २०:४०

बेलायतले गोर्खालाई भन्यो-समान पेन्सन सम्भव छैन, फरक प्रस्ताव ल्याए छलफल हुन्छ

नेपाली लिङ्क जुन ११, २०२४


लन्डन- गोर्खा मुद्धामा जारी त्रिपक्षीय वार्ताअन्तर्गत प्राविधिक कमिटीको बैठक सम्पन्न भएको छ ।

मंगलबार बिहान बेलायती रक्षा मन्त्रालयमा डेढ घण्टा चलेको बैठकमा पेन्सन र वेल्फेयरका एजेण्डामा घनीभूत छलफल भएको छ ।

बैठकमा सहभागी लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले पेन्सन र वेल्फेयरअन्तर्गत विभिन्न बुंदामा दुवै पक्षबाट आआफ्ना तर्कहरु राख्ने काम भएको जानकारी दिइन्।

बेलायतमा जुलाई ४ मा हुने आम निर्वाचनपछि सरकार परिवर्तन भएपनि गोर्खा वार्ता निरन्तर रहने बेलायती अधिकारीहरुले जानकारी गराएको उनले बताइन् ।
आम निर्वाचनका लागि केही साता मात्रै बाँकी रहेकाले अब अर्को चरणको वार्ता भने नयाँ सरकारपछि मात्रै हुने सम्भावना खनालले औंल्याइन् ।

त्रिपक्षीय वार्तामा भूपू गोर्खाहरुका प्रतिनिधि वार्ताकार मेजर रिटायर्ड जुदबहादुर गुरुङले छलफलका क्रममा बेलायती पक्षले समान पेन्सनको माग पूरा हुन नसक्ने स्पष्टोक्ति दिएको जानकारी दिए ।

‘रक्षा मन्त्रालयका अधिकारीहरुले भेटेरान मन्त्रीको निर्देशन भन्दै समान पेन्सनको माग कुनै हालतमा पूरा हुन नसक्ने बताए’, मेजर गुरुङले नेपाली लिंकसंग भने, ‘पेन्सन मागमा इक्वेल नभनेर अरु कुनै फरक ढाँचाको प्रस्ताव लिएर आउनुहोस्, हामी छलफल गर्न सक्छौं । तर इक्वेल पेन्सनबारे छलफल समेत हुन सक्दैन भनेर उनीहरुले स्पष्ट भनेका छन् ।’

बैठकमा वेल्फेयरबारे छलफल हुंदा बेलायती अधिकारीहरुले बेलायतका विभिन्न ६ स्थानमा वेल्फेयर सेन्टर स्थापना गर्ने प्रस्ताव गरेका थिए । जवाफमा गोर्खाहरुले वेल्फेयर सेन्टरभन्दा पनि स्वयंसेवकको संख्या बढाउन सके हरेक क्षेत्रमा बसोबास गर्ने गोर्खाहरुलाई प्रभावकारी सेवा दिन सकिने सुझाव दिएका थिए ।

बैठकमा बेलायती रक्षा मन्त्रालयका अधिकारीहरु साथै उनीहरुका कानूनी सल्लाहकार, लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सैन्य सहचारी कर्णेल अनुप शाह तथा जीटेन समूहबाट मेजर जुदबहादुर गुरुङ, कृष्णकुमार राई, धर्म तामाङ, मेजर उदयबहादुर गुरुङ र मेजर टिकेन्द्र दल देवानको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू