शनिबार, साउन १२, २०८१
02:10 | ०६:५५

बेलायतको आम निर्वाचनमा इतिहासकै धेरै उम्मेदवार

नेपाली लिङ्क जुन ११, २०२४

लन्डन- आउंदो जुलाई ४ का लागि घोषित आम निर्वाचनले बेलायत बिस्तारै निर्वाचनमय बन्दै गइरहेको छ ।

मतदान हुन तीन साता मात्रै बाँकी रहंदा यतिबेला मतदाता आफ्नो पक्षमा पार्ने कसरतमा दलहरुले आकर्षक प्रतिवद्धताहरु सार्वजनिक गर्ने क्रम चलिरहेको छ ।

बेलायतमा यसपटकको आम निर्वाचनमा इतिहासकै धेरै उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । बेलायतभरका कुल ६ सय ५० निर्वाचन क्षेत्रका लागि ४ हजार ५ सय बढी उम्मेदवारबीच चुनावी भिडन्त हुने भएको छ ।

बीबीसीका अनुसार पाँच वर्षअघिको निर्वाचनको तुलनामा यसपटक एक तिहाइ बढी उम्मेदवार मैदानमा आएका छन् ।

यो वर्षको आम निर्वाचनमा इतिहासकै धेरै उम्मेदवार हुनुका पछाडि बहुकारण रहेको बुझिएको छ ।

नाइजेल फाराज नेतृत्वको यूके रिफर्म पार्टीले यसअघि कञ्जरभेटिभ पार्टीविरुद्ध उम्मेदवारी नदिने घोषणा बाबजुद आफ्ना उम्मेदवारहरु खडा गराएको छ ।

त्यस्तै, ग्रीन पार्टीले विगतको तुलनमा धेरै क्षेत्रमा उम्मेदवारी दिएको छ भने वर्कस पार्टी अफ ब्रिटेन भन्ने नयाँ पार्टी पनि पहिलोपटक आम निर्वाचनमा भाग लिंदैछ ।

त्यसैगरी, स्वतन्त्र र साना दलका उम्मेदवारहरु पनि यसपटक उल्लेख्य संख्यामा वृद्धि भएकाले उम्मेदवारहरुको संख्या आकाशिएको पाइएको छ ।

अहिलेसम्मका सर्वेक्षणहरुले विपक्षी लेबर पार्टीले बहुमत प्राप्त गर्दै झण्डै डेढ दशकदेखि सरकार चलाइरहेको सत्तारुढ कञ्जरभेटिभ पार्टीलाई विस्थापित गर्ने देखाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू