शनिबार, साउन १२, २०८१
05:56 | १०:४१

बाबाको कुटीमा डेढ दर्जन कविले सुनाए पर्यावरण कविता

नेपाली लिङ्क जुन ७, २०२४

काठमाडौं । पर्यावरण दिवको उपलक्ष्यमा बुधबार पशुपति क्षेत्रको किरातेश्वर मृगस्थिलीस्थित सत्य सनातन बाबाको कुटीमा डेढ दर्जन कविहरुले पर्यावरण सम्बन्धी कविता पाठ गरेका छन् । 

शब्दाङ्कुर प्रकाशन र वर्तमान कविता समूहको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै शब्दाङ्कुरका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले पर्यावरण सम्बन्धी विषयमा लेखिएका कविताहरुलाई अङ्ग्रेजी भाषामा समेत अनुवाद गरेर शब्दाङ्कुरमा प्रकाशन गरिने जानकारी दिए ।

उनले यस किसिमको काव्य गोष्ठीका परिकल्पनाकार कवि विश्व सिग्देल रहेको उल्लेख गर्दै यसलाई भविष्यमा निरन्तरता दिन सकिने धारणा राखे ।

कविता पाठ गर्नुभन्दा पहिले धीरकुमार श्रेष्ठ, विश्व सिग्देललगायतले सत्य सनातन कुटीभन्दा माथिको जङ्गलमा एउटा पीपलको बोट पनि रोपे ।

कार्यक्रममा राजधानी र बाहिरबाट समेत आएका कविहरु क्रमशः भीष्म उप्रेती, दिव्य गिरी, रोशन शेरचन, धीरकुमार श्रेष्ठ, रामगोपाल आसुतोष, राधिका कल्पित, विनिशा सापकोटा, मनोज न्यौपाने, प्रेमिला राई, पुरुषोत्तम घिमिरे, कञ्चन जीआर मगर, श्रीराम दाहाल, सञ्जय सुमन, चन्द्रबहादुर लामा, शैलेन्द्र सिग्देल, विश्व सिग्देल र रमी प्रियाले पर्यावरण सम्बन्धि कविता र मुक्तक वाचन गरेका  थिए ।

कार्यक्रमको अन्त्यमा कवि चन्द्रबहादुर लामाले अङ्ग्रेजी भाषामा अनुवाद गरेको कविता मध्ये भीष्म उप्रेती, धीरकुमार श्रेष्ठ र रोशन शेरचनको कविता आँफैले वाचन गरेर सुनाएका थिए ।

कार्यक्रम समापनका क्रममा सत्य सनातन बाबाले प्रकृतिमाथि जथाभावी आक्रमण गरेर वन विनास गर्नु सम्पूर्ण मानव सम्भ्यतालाई नष्ट गर्नु हो भन्ने विचार व्यक्त गर्दै पृथ्वीमा रहेका आकाश, बायु र जल पनि प्रकृति हुन् र यिनको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको बताए । हरेक वर्ग र क्षेत्रबाट प्रकृतिमाथि भइरहेको जथाभावी गतिविधिको अन्त्य गर्दै स्वाधिनता, वैभव र समृद्धिको निम्नि सबैले कार्य गर्नुपर्नेमा उनले जोड दिए 

कार्यक्रममा सञ्चार माध्यमसँग सम्बन्धित व्यक्तिहरु, काव्य प्रेमीका साथै नवीन थापा, अर्जुन भुसाल, रामचन्द्र राई, राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो ।

रमी प्रियाले सञ्चालन गरेको  कार्यक्रममा बाँसुरीवादक विमल कार्कीले काव्य पाठको समयमा बाँसुरीको धुन प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू