बुधबार, १५ अक्टोबर, २०२५
14:02 | १८:४७

लन्डनमा श्रीया बनिन् ‘वुमन अफ द फ्युचर: ५० राइजिङ स्टार्स’

नेपाली लिङ्क अक्टोबर १५, २०२५

लन्डन – नेपाली मानसिक स्वास्थ्य अभियन्ता तथा ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी ‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मानित भएकी छिन्।

लन्डनस्थित फाइनान्सियल टाइम्स मुख्यालयमा सोमबार आयोजित एक समारोहमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

उनलाई गरिएको यो सम्मानले मानसिक स्वास्थ्यप्रति जागरण ल्याउने, भावनात्मक सहनशीलता विकास गर्ने तथा युवा र व्यापक नेपाली समुदायको रेखदेख र संवादका स्थानहरू सिर्जना गर्ने उनको कार्यको पहिचान गरेको आयोजकले जनाएका छन् ।

‘मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत एक नेपाली स्टार्टअप संस्थापकका रूपमा यो सम्मानले मलाई निकै प्रोत्साहित गरेको छ ‘, श्रीया गिरीले भनिन्- ‘यसले विशेष गरी हाम्रो देशले मानसिक स्वास्थ्य संकट व्यहोरिरहेको समयमा उज्यालो, माया र साहस ल्याइरहेका युवा नेपालीहरूको सामूहिक भावनालाई प्रतिबिम्बित गर्छ ।’

देशले विभिन्न चुनौतीहरूको सामना गरिरहेको सन्दर्भमा ह्याप्पी माइन्ड्सले मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि, मानसिक स्वास्थ्य सेवामा लगानी परिचालन र सहयोगी सामुदायिक स्थानहरू सिर्जना गर्न विविध ब्रान्ड र साझेदारहरूसँग सहकार्य गर्दै आएको छ ।

सो संस्थाका पहलहरूले कार्यस्थल, युवा सञ्जाल तथा ग्रामीण समुदायसम्म पुगेर मानसिक स्वास्थ्य सेवालाई पहुँचयोग्य, आत्मीय र सर्वस्वीकार्य बनाउन सहयोग पुर्‍याएका छन् ।

‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स इन ईएसजी’ कार्यक्रमलाई बेलायतका प्रमुख कम्पनीहरु टेस्को, रीड स्मिथ एलएलपी र फाइनान्सियल टाइम्सले सहयोग गरेका छन्। । यो अभियानले वातावरण, दिगोपन र सुशासनको क्षेत्रमा अर्थपूर्ण परिवर्तन ल्याइरहेका विश्वभरका ३५ वर्ष मुनिका युवा महिलाहरूलाई सम्मानित गर्दछ ।

कोभिड १९ महामारीको समयमा बेलायतमै स्नातकोत्तर अध्यनरत श्रीयाले नेपाल फर्केपछि मानसिक स्वास्थ्यको क्षेत्रमा योगदान पु याउने उद्देश्यले ‘ह्याप्पी माइन्ड्स’ स्थापना गरेकी थिइन्। गत वर्ष फोब्र्स एशियाले मानसिक स्वास्थ्य वकालत र युवाप्रेरणाको क्षेत्रमा उनको अग्रणी योगदानको कदर गर्दै उनलाई ‘३० अन्डर ३० – सोसल इम्प्याक्ट’ सूचिमा सूचीकृत गरेको थियो ।

जेनजी प्रदर्शनपछि मानसिक स्वास्थ्य संकट

जेनजी प्रदर्शनपछि खास गरी काठमाडौँ उपत्यका लगायतका सहरी क्षेत्रमा मानसिक स्वास्थ्य समस्या देखिएको गिरीले बताइन्।

‘यसलाई एक राष्ट्रिय मानसिक स्वास्थ्य संकटको रूपमा हेर्नुपर्छ। बालबालिकादेखि गर्भवती आमासम्म सबैलाई यसले छोएको छ। आन्दोलनका क्रममा हामीलाई धेरै बालबालिकाले फोन गरेर सहायता मागे। उनीहरू हिंसाका दृश्यहरूले अत्यन्तै विचलित भएका थिए र चिन्ता तथा डरसँग जुधिरहेका थिए। केही किशोरकिशोरीहरूले आफ्ना साथीहरू गम्भीर रूपमा घाइते भएको देखेपछि ‘survivor’s guilt’ भोगिरहेका थिए। हामीले अत्यधिक मानसिक तनावमा परेका गर्भवती आमाहरूका पनि कुरा सुन्यौं र उपयुक्त सल्लाह दियौं’, उनले भनिन्।

गिरीले युवाहरुमा भविष्यबारे अनिश्चय र चिन्ता, निद्रा नलाग्ने समस्या र दोषभावना जस्ता समस्याहरु देखिएको बताइन् । यस अवस्थाको शुरुवातमै जनचेतना फैलाउन र मानिसहरूले आफ्ना भावना व्यक्त गर्न सक्ने सुरक्षित प्ल्याटफर्महरू सुनिश्चित गर्नु अत्यावश्यक रहेको र अहिले नै यस्तो पहल नगरिएमा आगामी पुस्ता गम्भीर पोष्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डरबाट पीडित बन्न सक्ने उनले बताइन् ।

ह्याप्पी माइन्ड्सले जेनजी आन्दोलन सुरु भएको समयदेखि नै निःशुल्क मानसिक स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएको पनि उनले बताइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू