शनिबार, साउन १२, २०८१
05:33 | १०:१८

बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय

नेपाली लिङ्क जुन ६, २०२४

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

लण्डन —सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायतसहित अन्य मुलुकका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेला राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाइएको हो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सन् २०२२ जनवरी अन्तिममा राजदूत नियुक्त भएका थिए । उनले ३१ मार्च २०२२ मा महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका थिए ।  

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी थिइन्।

राजदूत आचार्य कूटनीतिक ज्ञान र अनुभव भएका व्यक्ति हुन्। विगतमा उनी मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालनमा प्रत्यक्ष संलग्न भइसकेका छन्।

आचार्य पूर्व परराष्ट्र सचिव (सन् २००७ देखि सन् २००९) हुन्। आचार्य सन् २०१२ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघीय उपमहासचिव बनेका थिए।

२९ वर्ष नेपालको परराष्ट्र सेवामा बिताएका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्यूयोर्कमा सन् २००९ देखि सन् २०१२ सम्म स्थायी प्रतिनिधि थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू