शनिबार, साउन १२, २०८१
06:44 | ११:२९

बेलायत आएका ४२ जना नर्ससंग नर्सिङ एसोसिएसनको ‘मिट एण्ड ग्रीट’

नेपाली लिङ्क जुन ४, २०२४

लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेले बेलायत र नेपाल सरकार (जीटुजी) सम्झौता अन्तर्गत बेलायत आएका नेपाली नर्सहरुको पहिलो ब्याचलाई स्वागत-सम्मान गर्ने भएको छ।

ब्रुक भिलेज हल बेजिङस्टोकमा आगामी ९ जुन बिहान ११ बजेदेखि कार्यक्रम हुन लागेको हो ।

गत मार्चदेखि मे अन्तिमसम्म विभिन्न चरण गरि ४२ जना नर्स नेपालबाट जीटुजी प्रोजेक्टमा बेलायत आइसकेका छन् । बेलायत आएका नेपाली नर्सहरु हयाम्पसायर हस्पिटल ट्रष्टमा कार्यरत छन् ।

एसोसिएसनले यस प्रोजेक्टमा बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ र हयाम्पसायर हस्पिटल ट्रष्टसंग को-पार्टनरका रुपमा शुरु देखि नै काम गर्दै आएको एसोसिएसनकी अध्यक्ष सुनिता गौतमले जनाइन् ।

एसोसिएसनले ति नर्सहरुको वेलफेयर, करिअर सपोर्ट र बेलायती परिवेशमा घुलमिल हुन सहयोग गर्दै आएको र अब स्थानीय समुदायसंग इन्टिग्रेसन गराउन ‘मिट एण्ड ग्रीट’ तय गरिएको अध्यक्ष गौतमले बताइन् ।

‘मातृभूमि छोडेर पहिलोपटक विदेशी भूमिमा काम गर्न आएका नर्सहरुलाई हामी साथमा छौं भन्ने प्रत्याभूति गराउन पनि कार्यक्रम गरिएको हो’, गौतमले भनिन् ।

उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, स्थानीय सरकारका प्रतिनिधि, सामाजिक अगुवाहरु, आध्यात्मिक नेताहरु आदिको सहभागिता सुनिश्चित भइसकेको जनाउंदै अध्यक्ष गौतमले इच्छुक नयां पुराना नर्सहरु र परिवारलाई पनि उपस्थित भएर हौसला प्रदान गर्न आग्रह गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू