शनिबार, साउन १२, २०८१
03:04 | ०७:४९

नेपाली ओपन कन्सर्टमा बेलायतवासी सबै नेपालीलाई निम्तो (भिडियो)

नेपाली लिङ्क जुन ४, २०२४

लन्डन- यही जुन १५ तारिखका दिन बेलायतमा आयोजना हुने नेपाली ओपन कन्सर्टमा सहभागिताका लागि आयोजक मगर संघ यूकेले बेलायतवासी सबै नेपालीलाई आव्हान गरेको छ।

‘म्यूजिक फर युनिटी’ को नारासहित केन्टको मेडिस्टोनस्थित ‘केन्ट इभेन्ट गार्डन’ शो ग्राउन्डमा कन्सर्ट हुंदैछ ।

यस वर्ष नेपाली कन्सर्टको प्रमुख आकर्षणका रुपमा चर्चित ‘मंगोलियन हार्ट’ ब्यान्डका गायक राजु लामाले प्रस्तुति दिंदैछन्।

त्यसबाहेक बेलायतस्थित सिक्का ब्यान्ड साथै नेसन पुन मगर, मुना थापा मगर, ललिता पुन मगर, यज्ञ विकसहित अरु नेपाली राष्ट्रिय कलाकारसमेतले प्रस्तुति गर्नेछन् ।

आयोजक संघकी अध्यक्ष सीता पुर्जा पुन नेपाली ओपन कन्सर्ट बेलायतवासी सबै नेपालीलाई आफन्त, साथीभाइ भेट्ने र दुखसुख बिसाउने चौतारी भएको बताउँछिन् ।

नेपालका चर्चित एवम् लोकप्रिय कलाकारहरुको सांगीतिक मनोरञ्जनका साथै दर्जनौंका संख्यामा नेपाली खाना, नेपाली पोशाक तथा सामग्री र च्यारिटी समेतका स्टलहरु रहने उनले जानकारी दिइन् ।

नेपाली ओपन कन्सर्टको आयोजक मगर संघ यूके भएपनि यसको नाम, उद्धेश्य, कार्यक्रमदेखि सहभागी कलाकारसम्मका आधारमा यो सम्पूर्ण नेपालीको साझा कार्यक्रम रहेको अध्यक्ष पुनको भनाइ छ ।

यस वर्ष कन्सर्टमा ४ हजार बढी दर्शकको सहभागिता रहने अपेक्षा आयोजकको छ। मध्यान्ह १२ बजे शुरु हुने कन्सर्ट राती ११ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा तीन सय भन्दा बढी अतिथिहरु निम्त्याइएको छ। यसपटक कन्सर्टको प्रमुख संयोजक संघका उपाध्यक्ष होम रोका छन् ।

कन्सर्ट हेर्न टिकट अनलाइनमा अग्रिम खरिद गर्दा ३० पाउन्ड मात्रै लाग्नेछ। ६५ वर्ष माथि र १२ देखि १७ वर्ष उमेरलाई भने २५ पाउण्ड छ। कन्सर्टस्थलमा लिनेहरुलाई ४० पाउन्ड लाग्नेछ।

कन्सर्टको टिकट लिन तथा कार्यक्रमबारे थप जानकारी लिन संघको वेबसाइट वा फेसबुक पेजमा जानुहोस् ।

कन्सर्टमा सहभागिताका लागि आयोजक मगर संघ यूकेसंगै बेलायतस्थित अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि अपील गरेका छन् ।

भिडियो- मगर संघ यूके पदाधिकारी र अन्य नेपाली संघसंस्थाका प्रतिनिधिको अपील :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू