शनिबार, साउन १२, २०८१
06:47 | ११:३२

लन्डन रोयल ग्रीनवीच बरोमा मेयर बने जीत रानाभाट

नेपाली लिङ्क मे २९, २०२४

लन्डन । बेलायतको लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका जीत रानाभाट मेयर निर्वाचित भएका छन् ।

एक साताअघि सम्पन्न बरोको साधारणसभामार्फत् सर्वसम्मत रुपमा मेयर निर्वाचित उनले बुधबार एक विशेष समारोहबीच शपथग्रहण गरे ।

वुल्लीचस्थित ग्रीनवीच टाउन हलमा आयोजित समारोहमा उपस्थित विशिष्ट अतिथिहरुमाझ रानाभाटले एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिए ।

बरोका निवर्तमान मेयर काउन्सिलर डा डोमिनिक एमब्याङले मेयरले पहिरिने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिए ।


त्यसअघि रानाभाटले एक्सेप्टेन्स डिक्लरेसनमा हस्ताक्षर गर्दै मेयरको जिम्मेवारी औपचारिक रुपमा स्वीकारेका थिए ।

शपथग्रहणपछि मन्तव्य दिंदै रानाभाटले समुदायको सेवामा झन् कटिवद्ध रहेर लाग्ने प्रण गरे । आफूलाई विश्वास गरेर मेयरको जिम्मेवारी दिने काउन्सिलरहरुप्रति पनि उनले आभार व्यक्त गरे । उनले बेलायत नेपाल र ब्रिटिश गोर्खाको सदियौं लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट रोजेको जनाए । 

सामाजिक सदभाव कायम राख्दै सांस्कृतिक विविधतायुक्त बरोमा सबै समुदायसँग सम्बन्ध मजबुत बनाउने उनको प्रतिवद्दता थियो ।

रानाभाटको शपथग्रहण समारोहमा बेलायती राजपरिवारका प्रतिनिधि समेत रहेका ग्रीनवीच बरोका डेपुटी लेफ्टिेन्ट र बरोका उच्चपदस्थ अधिकारीहरुदेखि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र यहाँको नेपाली समुदायका अगुवाहरुलगायतको उपस्थिति थियो । 

सोही अवसरमा श्रीमति गौमाया गुरुङलाई मेयरेस घोषणा गरियो । 

सो अवसरमा डायमन्ड बुद्धिस्ट सेन्टरले ‘अष्टमंगल’ प्रार्थना र पासा पुच गुथि यूकेले धिमे बाजा र ढा प्रस्तुत गरेको थियो ।

समारोहकै लागि नेपालबाट मेयर रानाभाटका वयोवृद्ध आमाबाबु समेत लन्डन आएका थिए ।

सन् २०२२ मा पहिलोपटक लेबर पार्टीबाट ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित भएका रानाभाटले पछिल्लो एक वर्ष सोही बरोमा उपमेयरको जिम्मेवारी सम्हालेका थिए ।

कास्कीको मादी गाउँपालिकास्थित थुमको डाँडामा जन्मिएका रानाभाट हाइली स्किल्ड भिसामा सन् २००८ मा बेलायत आएका हुन् । श्रीमती र दुई छोरीका साथ लन्डन प्लमस्टिडमा बस्दै आएका उनी प्रपर्टी र बिल्डिङ व्यवसायमा संलग्न छन् ।

डेढ दशकअघि बेलायत आएलगत्तै लेबर पार्टीसंग जोडिएका रानाभाट दुई वर्षअघि पहिलोपटक काउन्सिलर निर्वाचित भएका थिए ।

यसअघि उनले एनआरएनए यूके, यती नेपाली एशोसिएसनसहितका थुप्रै नेपाली संघसंस्थामा पनि विभिन्न नेतृत्वदायी पदमा रहेर काम गरिसकेका छन् ।

श्रीमति गौमाया गुरुङलाई मेयरेस घोषणा गरियो

बेलायतमा यसअघि पनि नेपाली मूलका केही मेयर र कयौं काउन्सिलरहरु निर्वाचित भइसकेका छन् । तर यहाँको कुनै पनि रोयल बरोमा काउन्सिलर वा मेयर निर्वाचित हुने भने रानाभाट नै पहिलो बनेका छन् ।

बरोको ऐतिहासिक तथा पुरातात्विक महत्वका साथै राजदरबारसंगको विशेष सम्बन्धका आधारमा सन् २०१२ मा रोयल बरो घोषित भएको ग्रीनवीच लन्डनका जम्मा तीन रोयल बरोहरुमध्ये एक हो ।

प्राइम मेरिडियन, ग्रीनवीच मिन टाइमदेखि विश्व सम्पदा सूचीकृत पर्यटकीय गन्तव्यहरु समेतको धनी ग्रीनवीच बरो दशौं हजार नेपालीको समेत घर हो ।

लन्डनको रोयल बरोमा पहिलोपटक नेपाली मूलका रानाभाटको मेयर नियुक्तिमा स्थानीय नेपालीहरुले पनि गौरवान्वित र उत्साहित महसुश गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू