शनिबार, साउन १२, २०८१
10:46 | १५:३१

उल्लासमय बन्यो २२ औं गोर्खाकप, मेन र भेटेरान दुवैमा बीबीसी च्याम्पियन

नेपाली लिङ्क मे २७, २०२४

लन्डन-बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो इभेन्ट गोर्खा कपको २२ औं संस्करण आइतबार सम्पन्न भएको छ ।

अल्डरसटको क्वीन्स एभिन्यूमा बेलायतका विभिन्न क्षेत्रबाट आएका हजारौं नेपालीमाझ मेन, भेटेरान र महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइयो ।

प्रतियोगितामा मेन र भेटेरान दुवै विधामा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) का टीम च्याम्पियन बने । महिलातर्फ रनडरबोल्ट एफसी विजेता भयो ।

३२ टीमले प्रतिस्पर्धा गरेको मुख्य विधाको फाइनलमा बीबीसीले वाटरमेलन क्लबलाई १-० ले हरायो । भेटेरानतर्फ विजेता बन्दा बीबीसीले धरान ११ लाई २-० ले पराजित गरेको थियो । दुई टीम मात्रै सहभागी महिलामा भने रनडरबोल्ट एफसीले ‘म खेल्छु एफसी’ लाई  १-० ले हरायो ।

विजेतालाई मुख्य विधामा ३ हजार पाउण्ड, भेटेरानमा १ हजार पाँच सय र महिलामा ६ सय पाउण्ड नगदसहित ट्रफी प्रदान गरियो । उपविजेताले भने मुख्य, भेटेरान र महिला विधामा क्रमशः १ हजार ८ सय, १ हजार र ४ सय पाउण्ड नगद र ट्रफी प्राप्त गरे ।

विजेताहरुलाई प्रमुख अतिथि रश्मोर बरोकी मेयर मारा माकुनारा, लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय बेलायती सांसद लियो डोकेर्टी, तमुधिं यूके अध्यक्ष हरि गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

गोर्खाकपमा यस वर्ष वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र नेदरल्याण्डबाट समेत टीमहरु सहभागी भएका थिए ।

त्यसअघि अध्यक्ष तमुधिं यूके अध्यक्ष हरि गुरुङले अध्यक्षता गरेको कार्यक्रमको संक्षिप्त औपचारिक सत्रमा प्रमुख अतिथि रश्मोर बरोकी मेयर माकुनारा, लन्डन दूतावासकी उपनियोग प्रमुख खनाल, स्थानीय बेलायती सांसद लियो डोकेर्टीलगायतले शुभकामना दिएका थिए ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङ, २२ औं गोर्खाकप संयोजक क्याप्टेन दीपकराज घलेलगायतले स्वागत गर्दै गोर्खाकप र संस्थाका परोपकारी कामहरुबारे जानकारी गराएका थिए । कार्यक्रम महासचिव डा विशाल गुरुङले सञ्चालन गरेका थिए ।

सो अवसरमा धौलागिरी नौमती बाजा, सयपत्री कल्चरल ग्रुपसहित नेपालबाट आएका केही कलाकारसमेतले विविध सांस्कृतिक प्रस्तुति दिए ।

कार्यक्रमस्थलमा राखिएका नेपाली खाना, नेपाली सामग्रीहरुका साथै विभिन्न व्यापारिक र च्यारिटी गरी झण्डै ६० स्टलमा मानिसहरुको भीड लागेको थियो ।

गोर्खा कपमा झन्डै १४ हजार मानिस उपस्थित भएको आयोजक तमुधिं यूकेले जनाएको छ ।

तस्बिर- एसके गुरुङ/मिलन तमु  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू