शनिबार, साउन १२, २०८१
06:22 | ११:०७

यूके पर्यटनदूत सार्की र लाट्टे आर्ट च्याम्पियन धन तामाङले वीनचेस्टरमा खोले कफी सप

नेपाली लिङ्क मे २४, २०२४

लन्डन । बेलायतका पर्यटनदूत, काउन्सिलर एवं भूतपूर्व गोर्खा धन सार्की र ‘यूके लाट्टे आर्ट च्याम्पियनसीप’ मा लगातार ६ वर्ष विजेता धन तामाङले वीनचेस्टरमा ‘कवि कफी’ सप खोलेका छन् ।

सञ्चालक धनद्वयको व्यापारिक साझेदारीमा वीनचेस्टर केन्द्रमा खुलेको ‘कवि कफी’ शुक्रबार स्थानीय मेयर रसेल गोर्डन स्मिथले रिबन काटेर उद्घाटन गरेका हुन् ।

मन्तव्यका क्रममा मेयर स्मिथले बधाई तथा शुभकामना दिंदै आफ्नो क्षेत्रमा नयां व्यवसाय स्थापना हुंदा यसले रोजगारी समेत सृजना गर्ने बताए ।

मेयरले लाट्टे आर्ट च्याम्पियन धन तामाङबारे आफूले धेरै पहिलेदेखि थाहा पाएको र गुगल सर्च गरि उनको पुस्तकको कपी नै प्रिन्ट गरेर ल्याएको बताउंदै आज धनकै व्यवसाय उद्घाटन गर्न पाउंदा ज्यादै खुशी लागेको बताए ।

करिब ५ लाख पाउण्ड लगानीमा खुलेको १५० सिट क्षमताको उक्त सपमा कफीसंगै इंग्लिस खाना, मःम र चिसो पेय पदार्थ उपलब्ध छन् । तीन तल्ले उक्त व्यापारिक भवनमा बारिस्टा प्रशिक्षण स्कुल समेत शुरु गरिएको छ ।

कफीको इन्टरनेशनल फ्रेन्चाइज कोस्टा वा स्टारबक्सकै हाराहारीमा पुग्ने आफूहरुको लक्ष्य रहेको सञ्चालकमध्ये एक सार्कीले बताए । लक्ष्मीप्रसाद देवकोटा कविको उपल्लो दर्जा महाकविका नामबाट विश्वभर फैलिएकाले उनकै उचाईंमा पुरयाउन कवि कफी नाम जुराइएको सार्कीले प्रष्टयाए ।

व्यवसायी सार्कीले नेपालमा समेत बारिस्टा प्रशिक्षण दिने उद्देश्यले कवि कफी स्कुल दर्ता भइसकेको पनि जनाए । नेपालमा उत्पादित कफी बेलायत ल्याएर विक्री गर्ने योजना समेत उनको छ ।

बेलायतका लागि नेपाली पर्यटन दूत समेत रहेका सार्की भूतपूर्व ब्रिटिश गोर्खा एवं लामो समय एनआरएन अभियानमा लागेका अभियन्ता हुन् । उनको यस व्यवसाय खोल्नुअघि अल्डरसटमा पोष्ट अफिससंगै क्याफे थियो ।

लाट्टे आर्ट च्याम्पियन धन तामाङ

उता, धन तामाङ झण्डै दुई दशकदेखि बारिस्टा एवं व्यवसायी हुन् । उनका कफी सम्बन्धि अन्तर्राष्ट्रिय स्तरका पुस्तकहरु समेत प्रकाशित छन् भने उनी कयौं विश्वप्रसिद्ध कम्पनीका ब्राण्ड एम्बासडर पनि हुन् । उनले कफी बारिष्टाको प्रशिक्षण समेत दिंदै आएका छन् ।

कफी सप उद्घाटन अघि नेपाली पण्डित पवन दाहालले पूजापाठ गरेका थिए । सो अवसरमा वीनचेस्टर सिटी काउन्सिल लिडर काउन्सिलर मार्टिन टोड, काउन्सिलर जोन टिप्पेट् कुपरलगायत स्थानीय सहभागी थिए । उद्घाटनपछि सहभागी अतिथीहरु कफी र खानाको स्वाद ग्रहण गर्न व्यस्त रहे ।

उक्त कफीसपमा १८ जना कर्मचारीले रोजगारी पाएका छन् । सेफ सु-सेफ ब्रिटिश र नेपाली राखिएको छ ।

सञ्चालक धन सार्की (बायां) र मेयर स्मिथ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू