शनिबार, साउन १२, २०८१
03:18 | ०८:०३

बेलायती प्रधानमन्त्रीको कार्यालयमा मनाइयो बुद्ध जयन्ती

नेपाली लिङ्क मे २३, २०२४

लन्डन —सम्भवत: बेलायतको इतिहासमै पहिलोपल्ट लन्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय तथा निवास १० डाउनिङ स्ट्रिटमा २२ मे बिहीबार बुद्ध जयन्ती मनाइयो ।

गत वर्षहरुमा बेलायतको संसद भवनभित्र बुद्ध जयन्ती मनाइन्थ्यो भने यसपल्ट प्रधानमन्त्रीको कार्यालय र निवासमा मनाइएको हो। 

बेलायतले सबै किसिमको धर्महरुलाई समान मान्यता र महत्व दिन्छ ।

१० डाउनिङ स्ट्रिटमा आयोजित बुद्ध जयन्ती समारोह सामाजिक आवास, धार्मिक आस्था तथा लर्ड्स सम्बन्धी ब्रिटिश उपमन्त्री ब्यारोनेस स्कट ब्रुक ओबीइले गरेकी थिइन्।  उनले संयुक्त राष्ट्रसंघका अनुसार बेलायत संसारकै सबैभन्दा बढी विविधतायुक्त मुलुक भएको बताइन्। उनले गौतम बुद्धको सन्देश वर्तमान विश्वमा अरु बढी सान्दर्भिक भएको पनि बताइन्।  

समारोहमा नेपाल, श्रीलंका र भारतका राजदूतहरु साथै  नेपाल, जापान, युके, श्रीलंका र भारतका बौद्ध भिक्षुहरु सहभागी थिए। 

कार्यक्रममा बेलायत भ्रमणमा रहेका लामा गुरु खेन्पो सन्तोष गुरुङ, डायमण्ड बुद्धिस्ट सेन्टरका अध्यक्ष योगेश गुरुङ, बार्नेट काउन्सिलका पूर्व उपमेयर काउन्सिलर लक्ष्य गुरुङ, एनआरएनए युकेकी पूर्व अध्यक्ष पूनम पल्मो कोंमे तमुस्यो, पूर्व काउन्सिलर सेवानिवृत्त मेजर चित्र राना लगायत विभिन्न मुलुकका झन्डै १०० जनाको सहभागिता थियो। 

कार्यक्रममा ब्रिटिश सांसदहरुको पनि उपस्थिति थियो भने लामा भिक्षुले संयुक्त रुपमा बुद्धको प्रवचन वाचन गरेका थिए ।  

गत सोमबार मात्रै प्रधानमन्त्री ऋषि सुनकले नेपाल-बेलायत शान्ति मैत्री सन्धि भएको १०० वर्ष पुरा भएको अवसरमा १० डाउनिङ स्ट्रिटमा एक स्वागत समारोह आयोजना गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू