शनिबार, साउन १२, २०८१
03:09 | ०७:५४

बेलायतमा फुटबल खेलेर नेपाली खेलाडीले खोले सम्भावनाको ढोका (भिडियो)

नेपाली लिङ्क मे २३, २०२४


लन्डन– जिम्मेवारी लिएपछि पूरा नभइन्जेल दिनरात खटिरहने समाजसेवी सूर्य गुरुङ बेलायती डायष्पोरामा एकपटक फेरि चर्चामा आए ।

च्यारिटी कर्म गरिरहने भएकाले धेरैले ‘च्यारिटी किङ’ समेत भनेर चिन्ने एनआरएनए यूके पूर्व अध्यक्ष गुरुङ गत मे ६ तारिख सम्पन्न नेपाल र इंग्ल्याण्ड सीबीचको ऐतिहासिक फुटबलका कारण धन्यवादको पात्र बनेका हुन् ।

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा भएको मैत्रीपूर्ण खेल हेर्न हजारौं नेपाली ओइरिए ।

पहिलोपटक नेपाली टिम बेलायती भूमिमा खेलेरमात्र होइन्, इभेन्ट पूर्णरुपमा सफल भएपछि आयोजक अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद अजिमसमेत गुरुङप्रति कृतज्ञ छन् ।

नेपाली खेलाडीको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित सम्मान कार्यक्रममा होस् वा आफ्नो लेखमा अध्यक्ष साहिदले प्रशंसा गर्दै भनेका थिए, ‘मैले शुरुमा सूर्यसंग गोर्खा प्यालेसमा भेटेर सल्लाह सुझाव माग्दा उनले त्योमात्र दिएनन्, मलाई खेलको चुनौति सामना गर्न सक्ने बल र हौसला पनि प्रदान गरे, सिन बाहिर रहेर पनि पूर्ण सहयोग गर्ने उनीप्रति म निकै आभारी छु ।’

खेल ऐतिहासिक हुनुमा सानो मिहेनतले सम्भव भएको पक्कै होइन । सूर्य लगायतले गत नोभेम्बरमा पहिलो बैठक गरेका थिए साहिदसंग । त्यसपछि सानो कोर टिम बनाएर उनीहरु खेल सफल बनाउन जुटे । त्यो कोर टिममा कमलकोने गुरुङ, दिलरास गुरुङ, विमल गुरुङ, डा. विशाल गुरुङ र कुमार गुरुङ थिए । टिकट विक्री गर्न, प्रायोजक खोज्न, अतिथी निम्त्याउन, नेपालबाट खेलाडी ल्याएर यहां व्यवस्थापन गर्न सूर्य नेतृत्वको ‘कोर टिम’ निकै खटियो ।

फुटबलको जननी बेलायतमा नेपाली टोलीले पहिलोपटक खेलेर फर्कंदा गर्व लागेको बताउंछन् सूर्य । इतिहास कायम हुनुमा एन्फा, इंग्ल्याण्ड एफए, लन्डनस्थित नेपाली दूतावास, मिडिया, स्पोन्सर र विशेष गरि साहिदको लगाव प्रमुख कारण देख्छन् उनी ।

समाजसेवी गुरुङ यस खेलपछि नेपाली नेशनल टिमका लागि अवसरको ढोका खुलेको बताउंछन् । यसका कारण जुनमा साउदीमा खेल्न जाने तयारी गरिरहेको नेपाली टिमलाई आत्मविश्वास बढाएको उनको बुझाइ छ ।

अल्डरसट एफसी नेपाली खेलाडीलाई बेलायतमा अवसर दिन धेरै सकारात्मक रहेको उनी बताउंछन् । कम्तीमा एकजना खेलाडी लिन संवादहरु चलिरहेको गुरुङले बताए । इंग्ल्याण्ड सी टिम पनि नेपाल लाने कुरामा इंग्ल्याण्ड एफए सकारात्मक भइरहेको उनको भनाइ छ ।

फुटबलले सबै समुदायलाई जोड्ने भएकाले यस्ता खेलबाट धेरै लाभ लिन सकिने उनको विश्वास छ । नेपाली खेलाडीलाई ‘एक्सपोज’ चाहिएकाले यसतर्फ सबैको ध्यान पुग्नुपर्ने उनको जोड छ ।

नेपालका पदाधिकारीमा केही व्यवसायिक कमजोरी हुंदा खेलाडीको भिजा ढिला आइपुगेर भ्रमण तालिका नै परिवर्तन भएपनि खेलाडीले यहां महत्वपूर्ण ठाउंहरु अवलोकन र अनुभव हासिल गरेर फर्किएका उनले सुनाए ।

हेरौं सामाजिक अभियन्ता गुरुङसंग नेपाली लिंकको भिडियो संवादः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू