शनिबार, साउन १२, २०८१
02:54 | ०७:३९

कस्तो हुंदैछ यस वर्ष गोर्खा कपको २२ औं संस्करण ? (भिडियो)

नेपाली लिङ्क मे २२, २०२४


लन्डन-बेलायतको नेपाली समुदायमा सबैभन्दा वृहत मानिने फुटबल प्रतियोगिता गोर्खा कपको २२ औं संस्करण यही मे २६ मे आइतबार आयोजना हुंदैछ ।

आयोजक तमुधिं यूकेले गोर्खा कपको तयारी पूरा भएको जनाउंदै यस वर्ष कार्यक्रम झन् व्यापक र वृहत हुने बताएको छ ।

शनिबार तमुधिं भवन मिचेटमा आयोजित पत्रकार सम्मेलनमा बताइएअनुसार यस वर्षको गोर्खा कपमा मेन क्याटेगोरिमा ३२ टिमबीच प्रतिस्पर्धा हुंदैछ भने भेट्रानतर्फ विगतभन्दा दोब्बर बढी १६ टिमबीच प्रतिष्पर्धा गराइनेछ ।

मेन क्याटेगोरीमा पहिलो हुने टिमले ३००० पाउण्ड, रनरअपले १८०० पाउण्डसहित ट्रफी र सर्टिफिकेट प्राप्त गर्नेछन् भने भेट्रान टिम वीनरले १५०० पाउण्ड र रनरअपले १२०० पाउण्ड तथा लेडिज वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउनेछन् ।

गोर्खा कपमा फुटबल प्रतियोगिता मात्र होइन्, विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहनेछन् । त्यसबाहेक यहां खाना र व्यापारिक स्टलहरु समेत विशेष आकर्षण रहनेछन् ।

स्टल संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले यो पटक रेष्टुरेन्टका १८, लत्ता कपडाका २६, नेपाली हस्तकलाका १० र व्यापारिक ६० स्टल रहने जानकारी गराए । अल्कोहल विक्री भने प्रतिवन्ध छ ।

गोर्खा कपको मुख्य आकर्षण मानिने प्यारासुट जम्प भने विविध कारण यसपटक नगराइने भएको छ । ठेलो खेल रद्द गरिएको छ ।

सो अवसरमा व्यवसायिक फुटबलरहरु कविन राई, विभेस गुरुङ र गोरक घलेलाई निमन्त्रणा गरिएको छ । सांस्कृतिक कार्यक्रम पनि गोर्खा कपको मुख्य आकर्षण रहनेछ ।

गोर्खा कप सम्पन्न गर्न तीनसय बढी स्वयंसेवकहरु खटाउने तयारी छ। गत वर्ष ४८ हजार ८०७ पाउण्ड खर्च भएको गोर्खाकपमा यस वर्ष झण्डै ६० हजार पाउण्ड खर्च हुने अनुमान छ । कार्यक्रमबाट संकलित रकममा खर्च कटाएर हुने बचत च्यारिटीमा सहयोग गर्ने योजना तमुधि यूकेको छ ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङ यसपटकको गोर्खा कपमा केही नयां गर्ने दुष्साहस गरिएको बताउँछन्। उनले गोर्खाकप बेलायतका सबै नेपालीको साझा कार्यक्रम रहेको भन्दै यसलाई सफल पार्न सबैको साथ र सहभागिताका लागि आव्हान गरेका छन् ।

हेरौं यस वर्षको गोर्खाकप तयारीबारे नेपाली लिंकको भिडियो रिपोर्ट:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू