शनिबार, साउन १२, २०८१
06:03 | १०:४८

नेपालको बालगृहलाई सहयोग जुटाउन लन्डनमा सय माइल साइकलयात्रा गरिंदै

नेपाली लिङ्क मे २२, २०२४

लन्डन- काभ्रेमा सञ्चालित एक बाल गृह सहयोगार्थ लन्डनमा साइकल यात्रा गरिने भएको छ ।

नेपाली साइक्लिङ क्लब यूकेका सदस्यहरुले आगामी मे २६ तारिखका दिन १ सय माइल साइकल यात्रा गर्ने भएका हुन् ।

‘राइड लन्डन एसेक्स २०२४ साइक्लिङ इभेन्ट’ का अवसरमा नेपाली साइक्लिङ क्लब यूकेका १५ जना सदस्यले भाग लिने क्लबका क्याप्टेन सुलभ पन्तले नेपाली लिंकलाई जानकारी दिए ।

च्यारिटी साइकल यात्राबाट संकलित रकम काभ्रेको धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको बाल गृहलाई सहयोग गर्ने योजना रहेको क्लबका एक सदस्य प्रसिद्ध प्रधानले जानकारी दिए । यो अभियानबाट बालगृहलाई तीन हजार पाउण्ड सहयोग जुटाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।

उक्त बालगृहले अनाथ तथा विपन्न परिवारका बालिकाहरुलाई आश्रयका साथै शिक्षा, स्वास्थ्य र व्यक्तिगत विकासका अवसरहरु प्रदान गर्दै आएको छ ।

क्लबका सदस्यहरुले दुई वर्षअघि लन्डनदेखि पेरिससम्म च्यारिटी साइकल यात्रा गरी ७ हजार २ सय पाउण्ड जुटाएर बालगृहलाई सहयोग गरेका थिए ।

क्लबका अर्का सदस्य ह्यारी गुरुङले च्यारिटी उद्धेश्यले गर्न लागिएको साइकल यात्रामार्फत् बालगृहलाई सहयोग गर्न बेलायतवासी सबै नेपालीलाई आग्रह गरे ।

यो अभियानमा सहयोग गर्न जस्टगिभिङ पेजको यो लिंकमा क्लिक गर्न सकिनेछ ।

च्यारिटी साइकल यात्रामा भाग लिने नेपाली साइक्लिङ क्लब सदस्यहरुमा आमोद प्रधान, भाष्कर कर्माचार्य, विजय लिम्बू, हरिहर उपाध्याय, ह्यारी गुरुङ, कौस्तुभ पौडेल, सागर गुरुङ, नारायण अधिकारी, प्रसिद्ध प्रधान, पूर्ण श्रेष्ठ, पुस्कर राजकर्णिकार, रवि रिमाल, राजन मगर र सुलभ पन्त छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू