शनिबार, साउन १२, २०८१
03:04 | ०७:४९

लन्डन वुल्लीचमा फरक ढंगले मनाइंदै बुद्धजयन्ती

कार्यक्रम २ जुन आइतबार

नेपाली लिङ्क मे १९, २०२४

आइतबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा बुद्ध फाउण्डेशन यूके पदाधिकारीहरु (तस्विर: दिनेश कुमार)

लन्डन । बुद्ध फाउण्डेशन यूकेले २ जुन आइतबार लन्डनमा गर्न लागेको २५६८ औं बुद्ध जयन्ती कार्यक्रमको तयारी व्यापक भएको छ ।

फाउण्डेशनले विगतमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रमको छैटौं संस्करण भने वुल्लीचको जनरल गोर्डन स्क्वायरमा गर्न लागिएको जनाएको छ ।

फाउण्डेशनले आइतबार वुल्लीचस्थित लिटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको प्रष्टयाएको छ ।

दिउसो २ देखि सांझ ७ बजेसम्म कार्यक्रम तय छ । कार्यक्रमको मुख्य आकर्षणमा हिमाल, तराई र पहाडसहित नेपाल झल्कने सांस्कृतिक प्रस्तुति रहनेछ । नेपाली राष्ट्रिय कलाकारहरुले गीत पनि गाउनेछन् ।

बालबालिकालाई बुद्ध दर्शन सम्बन्धि जानकारी दिन पुस्तक र नेपाल सम्बन्धि पोष्टर समेत प्रदर्शन गरिनेछ ।

कार्यक्रम पृथक बनाउने सोच अनुरुप साढे तीन फिटको मूर्ति नेपालबाट मगाइएको छ र त्यसमा अतिथीहरुले मैनबत्ति बालेर कार्यक्रम उद्घाटन गर्ने योजना छ ।

बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्यले बुद्धको जन्मदेखि मृत्युसम्मका विवरण समावेश गरि उक्त क्यानभास बनाएका हुन् ।

कार्यक्रममा हस्तकला सामग्री पनि प्रस्तुत हुनेछ ।


पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं फाउण्डेशनकी उपाध्यक्ष प्रसुना कंडेलले शान्तिको सन्देश फैलाउने एवं नेपाल र नेपाली कला संस्कृति प्रवर्धन गर्ने उद्देश्य रहेको बताइन् ।

उनले कार्यक्रमलाई लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समेत सहयोग गर्ने जनाइन् ।

नेपाली दूतावासले विदेशी कूटनीतिज्ञहरुलाई निमन्त्रणा पठाइएको पनि कंडेलले बताइन् ।

संयोजक कंडेलले विगतमा ट्राफल स्क्वायरमा हुने भएपनि यसपटक त्यहां स्थान उपलव्ध नभएकाले र फरक ठाउंमा फरक प्रकृतिको कार्यक्रम गर्न स्थान परिवर्तन गरिएको जनाइन् ।


फाउण्डेशन अध्यक्ष दीपक श्रेष्ठले विश्व शान्तिका प्रतीक गौतम बुद्धको जन्मोत्सव विशेष रुपले मनाउन तयारी व्यापक भइरहेको जनाउंदै लुम्बिनीलाई पर्यटक गन्तव्यका रुपमा विकास गर्ने यसको लक्ष्य रहेको पनि प्रष्टयाए ।

नेपाली जहां रहेपनि देशका लागि केही योगदान गर्नुपर्ने दायित्व हुने बताउंदै अध्यक्ष श्रेष्ठले कार्यक्रममा सबैलाई सहभागिता जनाएर सफल बनाइदिन आग्रह गरे ।

श्रेष्ठले लामो भाषण, खादा माला भन्दापनि मनोरन्जन प्रस्तुति बढी हुने बताए । कार्यक्रममा सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिसकिएको पनि उनले बताए ।

उनले कार्यक्रम खर्च करिब ८ हजार पाउण्ड रहेको जनाउंदै प्रायोजक, संघसंस्था तथा दाताहरूबाट आर्थिक श्रोत जुटाइएको जनाए ।

सल्लाहकार एवं रोयल बरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाटले आफ्नो ऐतिहासिक बरोमा हुन लागेको बुद्ध जयन्ती कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने बताउंदै यसले नेपाल पर्यटनलाई प्रवर्धन गर्न मद्दत पुरयाउने आशा पनि व्यक्त गरे ।

फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सल्लाहकारहरु विनोद ज्ञवाली, फडिन्द्र भट्टराई र आर के त्रिपाठी, इनास यूके अध्यक्ष सन्जय कंडेल, जनजाति महासंघ यूके अध्यक्ष कर्मा पहाडी शेर्पालगायत उपस्थित पत्रकारहरुले आ-आफनो सुझाव र जिज्ञासा राखेका थिए ।

भर्चुअल माध्यमबाट समेत सल्लाहकार शिवजी श्रेष्ठ, एनआरएनए यूके महासचिव गोविन्द खरेल, वरिष्ठ पत्रकार भगिरथ योगी लगायतले कार्यक्रम सफलताका लागि शुभकामना तथा सुझाव दिएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू