शनिबार, साउन १२, २०८१
02:15 | ०७:००

बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै

नेपाली लिङ्क मे १८, २०२४

बेलायती प्रधानमन्त्री ऋषि सुनक । तस्बिर- एपी

लन्डन । बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन 
गर्ने भएका छन् ।

नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष गांठ मनाउन टेन डाउनिङ स्ट्रिटमा विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत रुपमा वा सानो समूहसंग भेटघाट गरेपनि समुदायलाई नै सम्बोधन गर्न लागेको यो पहिलो ऐतिहासिक मानिएको छ ।

यही मे २० तारिख सोमबार साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकले सम्बोधन गर्ने कार्यक्रम छ ।

बेलायत र नेपालबीच द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्षगांठ मनाउने उद्देश्यले कार्यक्रम तय भएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालका अनुसार समारोहमा बेलायतको नेपाली समुदायबाट प्रतिनिधिमूलक रुपमा झण्डै १२० जनाको सहभागिता रहनेछ । त्यस्तै, नेपालसंग निकट करिब दुई दर्जन बेलायती पनि सहभागी हुनेछन्।

टेन डाउनिङ स्ट्रिटभित्र कार्यक्रम गर्न लन्डनस्थित समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेको पनि सहयोग छ ।

‘बेलायत नेपालको पहिलो द्विपक्षीय सम्बन्ध भएको मुलुक हो । दुई देशबीच झण्डै २०८ वर्ष लामो ऐतिहासिक सम्बन्ध रहिरहंदा मैत्री सन्धिको एकसय वर्षगांठ एउटा ऐतिहासिक कार्यक्रमसहित मनाउने सोचले सार्थकता पाएको छ’, लामिछानेले भने, ‘यसमा नेपाली दूतावास र समुदायको पनि विशेष योगदान रह्यो ।’

बेलायत सरकार र यहांको राजनीतिक वृत्तसंग निकट लामिछानेकै पहलमा यसअघि पनि बेलायत नेपाल द्विपक्षीय सम्बन्ध अभिवृद्धिमा केन्द्रित विभिन्न कार्यक्रम हुंदै आएका छन् ।

कार्यक्रम तयारीबारे छलफल गर्न टेन डाउनिङमा राजदूत ज्ञानचन्द्र आचार्य (दायां), उपनियोग प्रमुख रोशन खनाल र व्यवसायी समाजसेवी रविन्द्रजंग लामिछाने

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू