शनिबार, साउन १२, २०८१
05:57 | १०:४२

लन्डन दूतावासमा चर्चित गायिका आनीको प्रवचन

नेपाली लिङ्क मे १४, २०२४

लन्डन- चर्चित गायिका तथा समाजसेवी आनी छोइङ ड्रोल्माले मानवीय गुणहरुमा सबैभन्दा शक्तिशाली गुण करुणा र दया भएको बताएकी छन्।

आइतबार लन्डनस्थित नेपाली दूतावासमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै चर्चित गायिका आनीले मानिसहरु अहिले पैसा, पद र प्रतिष्ठाको पछाडी दौडी रहेको तर मनमा शान्ति भने पाउन नसकेको बताइन्। 

अहिले मानिसहरुमा डिप्रेशन, एक्लोपन जस्ता समस्या देखिएको भन्दै आनीले करुणाको अभावले नै त्यस्तो समस्या देखिएको बताइन्। 

‘करुणाको भावले स्वास्थ्यमा सुधार ल्याउंछ र मनस्थिति सन्तुलित तुल्याउँछ,’ उनले भनिन्- ‘सेवा भाव र कल्याणकारी सोचका साथ अगाडि बढ्यो भने पैसा र सम्पत्ति आफै जोडिदो रहेछ। पैसा भनेको त ‘बाइ प्रडक्ट’ (सह उत्पादन) मात्रै रहेछ।’

असहाय सडक आश्रित मानिसहरुको सेवा र स्याहार गर्ने संस्था मानव सेवा आश्रमको भवन बनाउन सहयोग जुटाउन हाल बेलायत भ्रमणमा रहेकी आनी छोइङ्ले मानव सेवा आश्रम सेवा, सद्भाव र करुणाले भरिपूर्ण मन्दिर भएको बताइन्। “त्यहाँ स्वयंसेवी सबै युवा हुनुहुन्छ। उहाँहरुको सेवाभावबाट म अत्यन्तै प्रभावित भएँ। मानव सेवा आश्रमसंग जोडिन पाउँदा म साह्रै खुसी छु,” उनले भनिन्।

मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले आउँदो दुइ वर्ष (वि सं २०८२) भित्र ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल’ घोषणा गर्न आफूहरुले अनवरत काम गरिरहेको बताए।

उनले २०६९ भाद्र १२ गते स्थापित मानव सेवा आश्रमले अहिलेसम्म १० हजार जना भन्दा बढी बाबाआमाको उद्धार गरिसकेको बताए। 

उनले अहिले सातै प्रदेशका १९ जिल्लामा रहेका २४ ओटा सेवा केन्द्रहरुमा झन्डै १७०० बाबा आमा र बाबु नानीहरुलाई खाना, नाना, छाना र बालबालिकाको पठनपाठन व्यवस्था गरिएको जानकारी दिए।  “हामी निमित्त मात्रै हौँ, गर्ने गराउने इश्वर हुनुहुन्छ,” उनले भने।

१९ ओटै जिल्लामा ‘मानवताको मन्दिर” निर्माण गर्न आफ्नो संस्थालाई कमसेकम एक अर्ब रुपियाँ आवश्यक रहेको उनले जनाए। 

संस्थापक अधिकारीले निरन्तर सहयोगका लागि नेपाल सरकार, स्थानीय निकाय, नेपाली जनसमुदाय तथा संसारभरि रहेका प्रवासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरे। 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सामाजिक सेवाको भावना जगाउन मानव सेवा आश्रमले थालेको अभियान उदाहरणीय रहेको बताए। उनले यस्तो अभियानमा हातेमालो गर्न सबैलाई आग्रह गरे। 

“करुणा र दया हाम्रो पूर्वीय दर्शनको सन्देश हो। सर्वप्रथम सडकमा जाने अवस्था रोक्न पनि हामीले काम गर्नु परयो,” राजदूत आचार्यले भने। 

उनले २०८२ मा सडक आश्रित मानवमुक्त नेपाल घोषणा गर्ने मानव सेवा आश्रमको अभियान सफल होस् भन्ने शुभकामना पनि दिए।

मानव सेवा आश्रम यूकेका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत व्यक्त गरेको अन्तरक्रियाको संचालन लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन्।

कार्यक्रममा मानव सेवा आश्रम युकेका अध्यक्ष सुनिल बाबु खड्का, सहअध्यक्ष विक्रम भट्टराई, उपाध्यक्ष यादव श्रेष्ठ, सल्लाहकार, स्वयम् सेवक तथा शुभेच्छुहरुको उपस्थिति थियो।

रेडिङ गुम्बामा आनीलाई स्वागत


शनिबार अपरान्ह रेडिङ उडलीस्थित बौद्ध गुम्बामा आनी छोइङलाई बौद्ध धर्मावलम्वीहरुले भव्य स्वागत गरे। आफ्नो मन्तव्यमा आनीले खुसी भएर जीवन जिउने कलाबारे चर्चा गरिन्। 

कार्यक्रममा गुम्बाका अध्यक्ष खेम गुरुङले गुम्बाले स्थानीय समुदायको हितमा गरेका कामहरुबारे जानकारी गराएका थिए। 

सन् २०१९ मा उक्त गुम्बा निर्माणका लागि एउटा सांगीतिक कार्यक्रम गरेर सहयोग जुटाइ दिएकोमा उनले आनी छोइङप्रति हार्दिक आभार व्यक्त गरे।  

उक्त कार्यक्रम संचालन सचिव उषा गुरुङले गरेकी थिइन् भने आमा समूहकी अध्यक्ष रजनी गुरुङले सहभागी सबैलाई धन्यवाद दिइन्।

आनी छोइङले गत साता नेपालमा मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ आयोजित एक भव्य सांगीतिक समारोहमा प्रस्तुति दिएकी थिइन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू