शनिबार, साउन १२, २०८१
03:05 | ०७:५०

बीसीसी यूके गुम्बामा सम्मानित भइन् गायिका आनी छोइङ

नेपाली लिङ्क मे १३, २०२४

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले गायिका आनी छोइङ ड्रोल्मालाई स्वागत तथा सम्मान गरेको छ ।

मानव सेवा आश्रम बेलायतको विशेष निमन्त्रणमा बेलायत आएकी आनीलाई ११ मे शनिबार अल्डरसटस्थित बीसीसी यूके गुम्बामा स्वागत तथा सम्मान गरिएको हो ।

उनलाई बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ तथा कार्यसमिति, आमा प्रमुख जगना गुरुङ तथा आमाहरु, ट्रष्टी मेम्बर्स, सल्लाहकारलगायत भक्तजनहरुले फूलको गुच्छाले स्वागत गरे । 

उक्त कार्यक्रममा आनीले बीसीसी यूकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिंदै ‘मानव सेवा नै धर्म हो, बुद्धको शिक्षा भनेको ज्ञान सिकाउने हो, सबैलाई समान व्यवहार गर्ने हो, दीन दुःखीहरुको सेवा गर्ने हो’ भनिन् । 

उनले मानव सेवा आश्रम नेपालले एकदमै राम्रो काम गरिरहेको बताउँदै आफूले सकेको सहयोग गर्न आग्रह गरिन् । 


सो अवसरमा बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङले आनी ड्रोल्मालाई स्वागत गर्दै बीसीसी यूकेले गर्दै आएको विभिन्न सामाजिक, धार्मिक एवं परोपकारी कार्यबारे जानकारी दिए । साथै उनले आउने २३ मे का दिन विविध कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको पनि बताए । 

त्यस्तै, महासचिव मेजर हितमान गुरुङले आनी छोइङको छोटो परिचय दिंदै आनी छोइङले निस्वार्थ भावनाले बुद्धको अनुयायीको रुपमा परोपकारी कामहरु गर्दै आइरहेको बताए । उनले आनीले दया, माया र करुणाका साथ थुप्रै बालबालिकाको शिक्षा, बृद्धवृद्धाहरुको हेरचाहलगायत क्षेत्रमा समेत सहयोग गरिरहेको जानकारी दिए । 


करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा बीसीसी यूकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म सुनाम लामा, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ, सल्लाहकार जङ्ग बहादुर गुरुङ, तमुधिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, सहारा यूकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत बीसीसी यूकेका ट्रष्टीज, सल्लाहकार, भक्तजन, शुभचिन्तकलगायत आमाहरुको उपस्थिति थियो । 

बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव मेजर हितमान गुरुङले सञ्चालन गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू