सोमबार, जेठ ७, २०८१
05:00 | ०९:४५

रास्वपा सांसद डा स्वर्णिम वाग्ले बेलायतमा

नेपाली लिङ्क मे ९, २०२४

लन्डन – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ-१ बाट निर्वाचित सांसद डा स्वर्णिम वाग्लेले आफ्नो पार्टीले इलाम उपनिर्वाचन नतिजाको समीक्षा गरेर अगाडि बढ्ने बताएका छन्। 

इलाम- २ मा गत बैशाख १५ गते भएको उप निर्वाचनमा सुहाङ नेम्वाङ विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा आएका थिए।

निजी भ्रमणमा एक साताका लागि बेलायत आएका सांसद वाग्लेले इलाममा गत आमनिर्वाचनमा प्राप्त मतमा कम्तिमा दश गुणाले वृद्धि गर्ने लक्ष्य राखिएपनि ४ गुणाले मात्र बढेकोले सापेक्षिक रुपमा निराशाजनक मानिएको बताए। ‘मिशन ८४’ का लागि इलामले उचित समयमा नै पार्टीलाई सुधार गर्नपर्ने ठाउँहरु देखाइदिएको उनले बताए।

बुधबार सेन्ट्रल लन्डनमा राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका पदाधिकारीहरुसंग छोटो अन्तरक्रिया गर्दै उनले सरकारमा बसेर राज्य संचालनको वृहत अनुभव लिन र जनताको पक्षमा काम गर्न आफुहरु सरकारमा गएको तर सोचेजस्तो काम गर्न नसकिए बाहिरिने नीति रहेको बताए। 

डा वाग्लेले आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले राम्रो काम गर्न प्रयासरत रहेको र १०० दिन पुरा भएपछि सरकारको पूर्ण समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरे।

सांसद वाग्लेले अहिले सरकारको स्थायित्वमा प्रश्न उठेजस्तो देखिएपनि गठबन्धन भत्किहाल्ने विश्वसनीय राजनीतिक र सैद्धान्तिक आधार दुबै नरहेको बताए।  

पार्टी सभापति तथा गृह मन्त्री रवि लामिछानेमाथि आरोप लगाउँदैमा संसदीय छानविन समिति बनाउने नजीरले पछि अरु दलका सबै नेतालाई पनि खेद्ने उनले बताए। “आफू दोषी पाइएमा कानून अनुसार सजाय भोग्न तयार रहेको कुरा सभापतिले बताइ सक्नु भएको छ। तर संसदमा बोल्नै नदिने कांग्रेसको अडान प्रतिशोधपूर्ण र असहिष्णु छ,” उनले भने।

उनले नेपालमा राजनीति गर्न चुनाव खर्चिलो भएको र त्यसले गर्दा भ्रस्टाचार बढ्दै गएको भन्दै नीतिगत र संस्थागत सुधारसँगै भ्रस्टाचार विरुद्ध शून्य सहनशीलताको आचरण फैलाउन पार्टीले दबाब दिइरहने बताए। 

भ्रस्टाचारमा विशेष अदालतले प्रमाणित गरेको एकजना कांग्रेसका संसद्को निलम्वन फुकुवा गरिएको र उनी अब संसदमा कानून बनाउने हैसियतमा ल्याइने परिदृश्य चिन्ताजनक भएको उनले सुनाए।    

उनले गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखिएका समस्याहरु समाधान गर्न आफ्नो पार्टीले पहल गर्ने पनि बताए। उनले आफू अहिले लण्डन र अक्सफर्डको निजी प्राज्ञिक भ्रमणमा आएको र आउँदो जुलाई महिनामा फेरि बेलायतको औपचारिक भ्रमण गरेर इङ्गल्याण्ड र स्कटल्याण्डका धेरै शहरहरुमा खुला अन्तरक्रिया गर्ने बताए।

भेटघाटमा राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका सह अध्यक्ष कोशलेश्वर ढकाल, महामन्त्री राजु कँडेल, प्रवक्ता विष्णु चालिसे, इष्ट मिडल्याण्ड सभापति कृष्ण लुइँटेल, साउथ इष्ट लन्डन सभापति राम थापा, लन्डन स्टुडेन्ट हेल्प डेस्क को-अर्डिनेटर रमेश बेलबासे, साउथ इष्ट लन्डन स्टुडेन्ट हेल्प डेस्क कोअर्डिनेटर बीरेन्द्र नेपाल, कार्यसमिति सदस्य डिलाराम गौतम लगायत सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू