सोमबार, जेठ ७, २०८१
07:11 | ११:५६

फुटबलले जोडेको नेपाल बेलायत सम्बन्ध

नेपाली लिङ्क मे ९, २०२४

लन्डन- गत ६ मे सोमबार इंग्ल्याण्ड सी र नेपाली राष्ट्रिय टिमबीच पहिलोपटक ऐतिहासिक मैत्रीपूर्ण फुटबल खेल भयो नेपाली उल्लेख्य रहेको अल्डरसट शहरमा । 

फुटबल सुरुवात भएको ‘होम अफ फुटबल’ मानिने इंग्ल्याण्डमा पहिलो पटक टेकेको थियो नेपाली टिम।    

निरन्तर वर्षाबीच इंग्ल्याण्डसँग २ गोलले पराजय भोगेपनि नेपालले हजारौं नेपाली दर्शकको मन जित्यो । झरीको ख्याल नगरि खेल हेर्न घण्टौं ड्राइभ गरी स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायत शहरबाट नेपाली अल्डरसट भेला भएका थिए ।

‘गोल कति गर्‍यो भन्दा पनि बेलायती माटोमा नेपालले पहिलो पटक खेल्ने अवसर पाउनु बढी महत्वपूर्ण हो भन्ने लाग्छ’-खेल सफल बनाउन निरन्तर खटिएका एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ भन्छन् । 

बिरलै भिड देखिने ८ हजार क्षमताको भरिभराउ इबीबी रंगशालामा झन्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरे । खेल हारेको होइन नेपाली मन जितेको भन्दै उनीहरुले खेलाडीको प्रशंसा पनि गरे । 

नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न एउटा सुन्दर अवसर जुरेको कतिपयको धारणा छ ।

गोर्खाहरुले ब्रिटिश आर्मीमा विगत दुईसय ८ वर्षदेखि सेवा गरिरहेका छन् र बेलायत नेपाल मैत्रीपूर्ण सन्धि भएको पनि एक सय वर्ष पुगिसकेको छ । यो गौरवशाली इतिहासबीच नेपाली फुटबल टिमले यसअघि कहिल्यै अवसर पाएका थिएनन् । ‘इंग्ल्यान्ड सी’ यहाँको राष्ट्रिय टिमकै मान्यता प्राप्त टिम हो जसले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग सद्भावना खेल खेल्ने गर्छ ।

दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्ध केही दशकयता जनस्तरमा अझ विस्तृत र व्यापक हुंदै गइरहेको स्मरण गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य यसबाट जनस्तरमा आपसी सद्भाव बढाउन र फुटबल क्षेत्रमा द्विपक्षीय सहयोग अझ अभिवृद्धि गर्न मद्दत पुरयाउने विश्वास व्यक्त गर्छन् । यसले बेलायतमा नेपालप्रति सद्भाव र नेपालीको पहिचान प्रवर्धन गर्न मद्दत पुरयाएको पनि उनको बुझाइ छ।


टिम म्यानेजर उत्तमराज भण्डारीले नेपाली फुटबल इतिहासमा नेपालले अर्को इतिहास रचेको टिप्पणी गर्छन् । ‘यो खेलाडीका लागि मात्र होइन, समस्त नेपाल र नेपालीलाई नै गौरवपूर्ण क्षण हो’ उनले भने, ‘हामीले जित्न नसके पनि सकारात्मक रुपमा लिनुपर्छ किनकी यस्तो अवसर हाम्रा खेलाडीले पहिलो पटक पाए ।’

नेपाली खेलाडीको परफर्मेन्सबाट फुटबल एसोसिएसन पदाधिकारीहरु पनि प्रभावित भएका भण्डारीले बताए । 

‘खेलका क्रममा फुटबल एसोसिएसन पदाधिकारीसँग कुराकानी हुँदा उनीहरु इंग्ल्याण्ड टिमलाई नेपाल लान पनि सकारात्मक रहेकाले यसबाट नेपाललाई हेर्ने दृष्‍टिकोण नै फरक हुन सक्छ’ उनको धारणा थियो । 

अल्डरसट टाउन फुटबल क्लवले नेपाली संघसंस्थाको सहयोगमा फुटबल खेल गरेको हो । 

क्लबका अध्यक्ष साहिद अजिम नेपाली समुदायप्रति निकै आभारी छन् । ‘अल्डरसट सहरलाई ब्रिटिस सेनाको घर भनेर चिनिन्छ जहाँ १०० वर्षभन्दा बढी समयदेखि गोर्खा रेजिमेन्ट तैनाथ छ । स्थानीय समुदायलाई एकीकृत गर्ने र अल्डरसट टाउन फुटबल क्लबलाई पूर्ण समावेशी क्लब बनाउन यो ठूलो अवसर रहयो’- उनले बताए । 

खेल सफल बनाउन यहाँको सिंगो नेपाली समुदाय जुटेको थियो । तिमध्ये एक थिए समाजसेवी व्यवसायी रवीन्द्रजंग लामिछाने । उनी नेपाल राष्ट्र र राष्ट्रियताका सवालमा बेलायतका नेपाली सधैं एकजुट हुने गरेको स्मरण गर्छन् । ‘यस  प्रतियोगिताले अब भविष्यका लागि पनि नेपाली खेलाडी फेरी फेरी आउन ढोका खोलेको छ’ लामिछानेले भने ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू