शनिबार, जेठ ५, २०८१
08:38 | १३:२३

नेपाल र ब्रिटिश आर्मीबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा

नेपाली लिङ्क मे ४, २०२४


लन्डन– बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मीसंग पहिलो मैत्रीपूर्ण खेल खेलेको छ । ब्रिटिस आर्मीसँग पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो ।

आर्मी हेडक्वार्टरमा शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि प्रयत्न गरेपनि उपलब्धि हासिल गर्न सकेनन् ।

टिम म्यानेजर उत्तमराज भण्डारीले नेपाली खेलाडी एयरपोर्ट ओर्लने बित्तिकै आराम नगरि खेल्दा पनि उत्कृष्ट प्रदर्शन गरेको जनाए । ‘बेलायती र नेपाली खेलाडीको तुलना हुंदैन । तर, हामी फिजिकल्ली भन्दा पनि मोरल्ली स्ट्रंग छौं । नेपाली खेलाडीलाई त्यही अनुसार प्रोत्साहन गरिरहेका छौं’, उनले भने ।

भण्डारीले नेपाली खेलाडी आज आराम गर्ने र भोलि आइतबार प्राक्टिसमा व्यस्त रहने जनाए ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल ६ मे सोमबार इङ्ल्यान्ड ‘सी’ टोली सँग खेल्नेछ । अल्डरसट टाउन फुटबल क्लबको आयोजनामा क्लबको आफ्नै इबीबी स्टेडियममा हुने उक्त मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत गरि ३० जनाको टोली अहिले बेलायतमा छ ।

खेल सफल बनाउन लन्डनस्थित नेपाली दूतावाससहित यहांको नेपाली समुदाय जुटेको छ । अहिलेसम्म ५ हजार हाराहारी टिकट विक्री भइसकेको छ भने प्रायोजकहरुले पनि उल्लेख्य सहयोग गरेका छन् । व्यवसायी रविन्द्रजंग लामिछानेले मात्र ६ हजार पाउण्ड सहयोग गरेका छन् ।


नेपालले सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल खेल्न बेलायत आएको हो ।

विश्वकप छनोट अन्तर्गत नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा संयुक्त अरब इमिरेट्ससँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू