शनिबार, जेठ ५, २०८१
05:40 | १०:२५

लन्डनमा माया टी १० क्रिकेट प्रतियोगिता गर्ने तयारी

कन्सर्टसहित नेपाली मेला पनि एकसाथ

नेपाली लिङ्क मे ४, २०२४

लन्डन । माया इभेन्ट्सले लन्डनमा माया टी १० क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

आउंदो १४ जुलाईका दिन वाइकम्ब हाउस टेनिस एण्ड क्रिकेट क्लव आइजलवर्थमा क्रिकेट प्रतियोगितासहित सांगीतिक कन्सर्ट गर्न लागिएको हो ।

मिडलसेक्स्को टप थ्रीमा पर्ने उक्त पिचमा ४ टिमबीच १० ओभरको प्रतियोगिता आयोजना गरिने माया इभेन्ट्सका सिइयो राज पाण्डेले शुक्रबार लन्डन हन्स्लोस्थित मामाज रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस दिन क्रिकेटसंगै कन्सर्ट, खाना, राष्ट्रिय पोशाकका स्टल एवं बालबालिकाका लागि बाउन्सी क्यासल खेल र आर्ट पेन्टिङ राखेर नेपाली मेलाकै रुप दिइने पाण्डेले बताए ।

नेपाल, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट समेत आउने टी ट्वान्टी खेलिसकेका नेपाली क्रिकेटरहरुसहित बेलायतमा रहेका नेपाली खेलाडी मिलाएर बनाइने टिमबीच प्रतिष्पर्धा हुनेछ ।

अष्ट्रेलियाबाट सुवास खकुरेलसहित ५ जना, न्यूजिल्याण्डबाट दिनेश खरेल एवं नेपालबाट करण केसी, दीपेन्दसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, रोहित पौडेल, कुशल मल्ल, कुशल भुर्तेलसहित १३ जना व्यवसायिक खेलाडी बेलायत आउने पाण्डेले बताए ।

विजेतालाई ५ हजार पाउण्ड र उपविजेतालाई २००० पाउण्ड नगद पुरस्कार दिइने सिइयो पाण्डेले जनाए । यो पुरस्कार राशी बेलायतको नेपाली समुदायमा सबैभन्दा उच्च हो ।

सांगीतिक कन्सर्टका लागि निमा रुम्बा, धिरज राई आदि राष्ट्रिय कलाकारसंग कुरा भइरहेको पाण्डेले बताए । तीनवटा नेपाली कम्पनी पनि ब्राण्ड प्रमोशन गर्न आउनेछन् ।

उक्त खेलका लागि अनुमानित बजेट झण्डै ७० हजार पाउण्ड छ । खेल हेर्न ५ हजार दर्शक उतार्ने लक्ष्य आयोजकले लिएका छन् । फूल इभेन्ट हेर्न प्रवेश शुल्क जम्मा ५ पाउण्ड राखिएको छ ।

प्रतियोगितालाई युट्यव र नेपालको प्राइम टिभी एचडीबाट लाइभ गर्ने आयोजकले जनाएका छन् ।

माया क्रिकेट क्लवसमेत सञ्चालन गरिरहेका सिइयो पाण्डेले आफू पनि पूर्व क्रिकेट खेलाडी भएकाले नेपालको क्रिकेट विकास र खेलाडीको अवसरका लागि प्रतियोगिता गरिएको जनाए । उनले महिलालाई अर्को सिजनमा सहभागी गराउन प्रयास गरिने पनि उल्लेख गरे ।

बेलायतमा अन्य धेरै गतिविधि हुने भएपनि क्रिक्रेट उत्सव नभएको उल्लेख गर्दै पाण्डेले यस्ता गतिविधिबाट बेलायतमा रहेका नेपाली युवा खेलाडीलाई अवसर मिल्ने बताए ।

‘मलाई थाहा छ धेरै भाईहरुलाई क्रिकेट खेल्न पाए अरु केही चाहिंदैन । उनीहरुको प्रतिभा उजागर र अवसर दिने पनि मेरो सोच हो’, पाण्डेले भने, ‘म बेलायत नेपालबीच पुलको रुपमा काम गरिरहेको छु ।’

प्रायोजकहरुबाट खर्च जुटाइने र खर्च कटाएर दि गोर्खा सेन्टर एवं द अर्फानेज होम्स् गरि दुई च्यारिटी संस्थालाई सहयोग गरिने पाण्डेले जनाए ।

कार्यक्रममा नेपाली समुदायको पूर्ण साथ रहने विश्वास व्यक्त गर्दै पाण्डेले एकजुट भएर खेल सफल बनाइदिन एवं नेपाल र नेपालीबीच भाइचारा कायम राख्न अपिल गरे ।
पत्रकार सम्मेलनमा माया क्रिकेट क्लवका क्याप्टेन सचिन शर्मा, क्लवका उपकप्तान एवं पूर्व अन्डर १९ खेलाडी प्रकाश विष्ट, म्यानेजर आशिस भट्ट एवं खेलाडी आशिष कुर्मी पनि सहभागी थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू