बुधबार, जेठ ९, २०८१
22:35 | ०३:२०

यूकेको रोचेस्टर स्वीप्स फेस्टिवलमा नेपाली नृत्य र साकेला शिली देखाइने

नेपाली लिङ्क अप्रिल ३०, २०२४

फाइल तस्बिर

लन्डन । रोचेस्टर स्वीप्स फेस्टिवल यूके २०२४ मा नेपाली नृत्य र साकेला शिली देखाइने भएको छ । फेस्टिभलमा गोर्खा नेपाली समाज मेडवेले सहभागिता जनाउंदै नेपाली गीतमा नृत्य, गोर्खाहरुबारे जानकारी, खुकुरी डान्ससहित किरात राईहरुको साकेला शिली प्रस्तुत गर्ने कार्यक्रम तय भएको समाजका अध्यक्ष भविन साम्पाङ राईले जानकारी दिए ।

बिहान १० देखि सांझ ६ बजेसम्म हुने फेस्टिभलमा आफ्नो कला संस्कृति झल्कने नृत्य र किरात राईहरुको साकेला शिली ढोल झ्याम्टा, चौंरीको पुच्छर हल्लाउँदै प्रदर्शन गर्ने तयारी गरेका छन् ।

अहिले रोचेस्टर स्वीप्स फेस्टिभलमा प्रस्तुतिका निमित्त साकेला शिली संयोजक श्रीमती चन्द्रावती राईको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा सल्लाहकार सूर्य राईको प्रशिक्षणमा तयारी भइरहेको गोर्खा नेपाली समाज मेडवेका महासचिव इ. हरित पोखरेलले जानकारी दिए ।

किरात राई यायोख्खा यूके प्रारम्भिक कार्यसमिति मेडवेका अध्यक्ष भिष्म राईले साकेला तयारीका निम्ति हल र सामाग्रीहरु ब्यवस्थापन गरेका छन् ।

४२ औं रोचेस्टर स्वीप्स फेस्टिवल आगामी शनिबार ४ मे देखि सोमबार ६ मे २०२४ सम्म हुनेछ । लोक संगीत र नृत्यको यो अन्तर्राष्ट्रिय उत्सव संसारमा सबैभन्दा ठूलो मे दिवसको उत्सव मानिन्छ ।

संयोगवस् यो पटक नेपालीमूलकी पहिलो महिला मेयर मेयर अफ मेडवे काउन्सिलर श्रीमती निना गुरुङले महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ ।

ऐतिहाँसिक रोचेस्टर शहरमा हुने रोचेस्टर स्वीप्स् फेस्टिभल लोक संगीत र नृत्यको अन्तर्राष्ट्रिय महोत्सव हो । यसमा उत्कृष्ट लोक संगीतकारहरू र ब्यान्डहरूका साथ रंग र ध्वनिको गुञ्जन हुनेछ ।

प्रवेश निःशुल्क रहने उक्त महोत्सवले हरेक वर्ष ६० हजार बढी दर्शक आकर्षित गर्ने गर्दछ । महोत्सवले अन्तर्राष्ट्रिय नृत्य र झाँकीहरु समेत समेट्नेछ ।

महोत्सवमा विभिन्न किसिमका खानाका स्टल, व्यापारिक स्टलदेखि पेय र केटाकेटीका निमित्त विभिन्न खेलकुद र मनोरन्जनको व्यवस्था रहने छ भने रोचेस्टर क्यासलको आँगनमा चर्चित गायक गायिका र ब्याण्डहरुले निरन्तर आफ्नो प्रस्तुति दिनेछन् । मोरिस र अन्तर्राष्ट्रिय लोक नृत्य-संगीत प्रदर्शन पनि हुने जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू