शुक्रबार, वैशाख २१, २०८१
16:35 | २१:२०

बेलायती चुनाव सरगर्मी, लेबर उम्मेदवारहरुको पक्षमा ह्यारो इष्टमा घरदैलो

नेपाली लिङ्क अप्रिल २३, २०२४

लन्डन –  आउँदो २ मेमा लन्डन मेयर तथा लन्डन एसेम्बलीका लागि हुन गइरहेको चुनावमा लेबर पार्टीका उम्मेदवारहरुलाई जिताउन लन्डनका अन्य क्षेत्र जस्तै ह्यारो इष्टमा पनि घर दैलो गरिंदै छ।

गत शनिबार बिहान केन्टन लेनस्थित ‘द डक इन द पण्ड’ पब बाहिर भेला भएका लेबर कार्यकर्ता तथा समर्थकहरुलाई सम्बोधन गर्दै ह्यारो इष्टबाट लेबर सांसदका उम्मेदवार प्रिमेश पटेलले लन्डनका लोकप्रिय मेयर सदिक खानले शुरु गरेका रचनात्मक कामहरुलाई निरन्तरता दिन फेरि पनि लेबर पार्टीलाई मत दिन आग्रह गरे। 

उनले उनकै शब्दमा गत १४ वर्ष देखि मुलुकलाई आर्थिक संकटमा धकेलेको कन्जरभेटिभ सरकारलाई हटाएर लेबर पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्न देश भरिका मतदाता आतुर रहेको बताए। 

उनले ह्यारो इष्टमा स्वास्थ्य तथा सामाजिक स्याहार सेवाहरुको संरक्षण गर्न, महंगीबाट पीडित स्थानीय समुदायलाई मद्दत गर्न र थप प्रहरी भर्ना गरी स्थानीय समुदायको सहयोगमा यो क्षेत्रलाई सुरक्षित बनाउन आफूले उम्मेदवारी दिएको बताए।

ब्रेन्ट र ह्यारोबाट लन्डन एसेम्बलीका लागि उम्मेदवार क्रुपेश हिरानीले स्वछ वायु, सहज यातायात, स्थानीय व्यवसाय तथा रोजगारीको सुरक्षा, एनएचएसमा सुधार एवं स्थानीय समुदायका लागि सुपथ मूल्यमा आवास उपलब्ध गराउने एजेन्डा सहित आफूले उम्मेद्वारी दिएको बताए। 

उनले पोस्टल भोटको माध्यमबाट वा आफ्नो परिचयपत्र सहित मे २ मा नजिकको मतदान केन्द्रमा गएर लेबर उम्मेदवारहरुको पक्षमा मतदान गर्न आग्रह पनि गरे।


ह्यारो काउन्सिलमा लेबर पार्टीका लिडर काउन्सिलर डेभिड पेरीले मेयर सदिक खानले अगाडि सारेका लन्डनका सबै सरकारी प्राथमिक विद्यालयहरुमा सबै बालबालिकालाई निशुल्क दिवा भोजन गराउने, यो दशकको अन्त्यसम्ममा ४० हजार नयाँ काउन्सिल घरहरु बनाउने, १३०० प्रहरी संख्या थप गर्ने, वायु प्रदुषण कम गर्ने लगायत एजेन्डा कार्यान्वयन गर्न लेबर पार्टीका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे। 

उक्त घरदैलोमा रेडब्रिज लेबर, सिख्स फर लेबर तथा इलिङ लेबरका प्रतिनिधिहरु पनि सहभागी भएका थिए। कोण सभापछि लेबर पार्टीका सदस्य तथा शुभेच्छुहरुले आफ्ना उम्मेदवारहरुको पक्षमा घर दैलो गर्दै मत मागेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू