शुक्रबार, वैशाख २१, २०८१
17:01 | २१:४६

लण्डन म्याराथनमा नेपालीहरुको सहभागिता उल्लेख्य

नेपाली लिङ्क अप्रिल २२, २०२४

लन्डन— विश्वको एक उत्कृष्ट म्याराथनमध्ये लन्डन म्याराथन २०२४ संस्करण आइतवार सम्पन्न भएको छ । यसपालि विश्वभरबाट सर्वाधिक ५० हजार बढी धावकले प्रतिष्पर्धा गरेका थिए ।

नेपाल रन यूकेका तर्फबाट ५६ धावकले लन्डन म्याराथन दौडिए । लन्डन म्याराथनमा दौड्ने क्लवका मेम्बरहरुले विभिन्न च्यारिटी फन्डरेज पनि गरेका थिए ।

धावक मध्येका एक सूर्य गुरुङले मिरा राई इनिसिएटिभका लागि £ २०,८०१ संकलन गरेर अहिले सम्म लन्डन म्याराथन दौड्ने नेपालीहरुको फन्डरेज रेकर्ड ब्रेक गरेका छन् ।

उता, एक वर्ष अघि जटिल स्वास्थ्य समस्याले ६ साता आइसीयूमा बिताएका क्लवका अध्यक्ष तथा सेफ पाण्डव महतोले लन्डन म्याराथन ३ घण्टा १० मिनेटमा सम्पन्न गरेर दौडमार्फत नै रिकभर गरेको प्रमाणित गरेका छन् । उनले पनि आफू ग्रसित जिबिएस निराकरणका लागि ‘फन्डरेज’ गरेका थिए ।

नेपाल रन यूकेको निमन्त्रणामा विश्वप्रसिद्ध लन्डन म्याराथनमा भाग लिन आएका धावक गोपीचन्द्र पार्कीले चाहे जस्तो नतिजा हासिल गरेका छन् । उनले २ घण्टा २२ मिनेट मिनेट ३१ सेकेन्डमा २६ माइलको दौड सम्पन्न गरे । ‘राम्रो रेकर्ड राख्न खोज्दा कहिलेकाहीं भनेजस्तो हुन सक्दैन । मेरो यो सुरुवात हो र भविष्यमा अझ उत्कृष्ट गर्नेछु’ उनले भने ।

यहां आएर धेरै सिक्ने मौका पाएको र अब अझ उत्कृष्ट गर्ने भन्दै उनले यो अवसरका लागि नेपाल रन यूके क्लवलाई धन्यवाद दिएका छन् ।

नेपाल रनले प्रवासमा नेपाली समुदाय सथै नेपालमा दौड संस्कृतिको विकास साथै सम्भावना रहेका धावकहरूलाई विश्वमा प्रतिष्पर्धा गर्न सहयोग गर्ने उद्देश्यले धावकहरुलाई निरन्तर तालिम र सहयोग प्रदान गर्ने गरेको क्लवका कोच सन्तोष राईले बताए ।

क्लबले आइतवार साँझ लण्डन म्याराथन सहभागी खेलाडीहरुको सम्मानमा एक कार्यक्रम गरेको थियो। कार्यक्रममा उत्कृष्ट धावकहरु साथै गोपी पार्कीलाई सम्मान गरियो।

सम्मान कार्यक्रममा ए स्टार फाइनान्स र एइएसएनद्वारा प्रायोजित क्लवको अफिसियल ट्रेनिङ टिसर्ट लन्च पनि गरिएको थियो ।

क्लवका कोषाध्यक्ष रविन्द्र अधिकारीले आर्थिक सहयोग नै क्लव विकासको मुख्य आधार रहेको भन्दै सम्पूर्ण प्रायोजक र सहयोगीलाई धन्यवाद दिए ।

यो वर्ष देखि नेपाल रनले लण्डन म्याराथनमा अफिसियल स्वयंसेवक पनि पठाउन थालेकाले भोलिन्टियरहरुलाई सम्मान पनि गरिएको थियो ।


लन्डनको प्रसिद्ध मध्ये एक इलिङ हाफ म्याराथनसंगको सहकार्यमा ५ किमी दौडको सम्पूर्ण जिम्मेवारी नेपाल रन क्लवले प्राप्त गरेको छ ।

यस्तै नेपाल रनको वार्षिक दौड अन्तर्गत आगामी नोभेम्बरमा नर्थल्ट १० के म्याराथन आयोजना हुने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू