शनिबार, वैशाख २२, २०८१
20:30 | ०१:१५

बेलायतका नेपाली चिकित्सकहरुले गरे महिला बालबालिकाका लागि च्यारिटी (फोटो फिचर)

नेपाली लिङ्क अप्रिल २१, २०२४

लन्डन । बेलायतस्थित नेपाली चिकित्सकहरुको 
च्यारिटेवल संस्था नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले शनिबार लन्डन वेम्लीस्थित क्ले ओभनमा एक च्यारिटी डिनर गरेको छ ।

नेपालमा मानव बेचविखन र यौन शोषणबाट मुक्ति पाएका समुदायका लागि कार्यरत अपरचुनिटी भिलेज नेपालको सहयोगार्थ उक्त च्यारिटी भएको हो ।

उक्त संस्थाले महिला बालबालिकाको अधिकार, उनीहरुको आर्थिक एवं सामाजिक न्याय, बाल श्रम रोकथाम, मानव बेचविखन र बालिका शिक्षाको प्रवर्धनका लागि वकालत गर्ने गर्छ ।

संस्थाले हाल वाल हेरचाह गृह सञ्चालन गरिरहेको छ जसमा विशेष गरी यौन दुर्व्यवहार, बेचविखनबाट मुक्ति पाएका वा बेचविखनको उच्च जोखिममा परेका ३० जना बालिकाले संरक्षण पाएका छन् ।

कार्यक्रममा नेपाली चिकित्सकहरुले नेपालमा बढ्दो मानव बेचविखन समस्याप्रति चिन्ता व्यक्त 
गर्दै स्वतस्फूर्त सहयोग प्रदान गरे ।

एसोसिएसनले च्यारिटीबाट १५ हजार पाउण्ड बढी संकलन गरेको जनाएको छ । ‘जस्ट गिभिङ’ बाट नै अहिलेसम्म ७२ दाताबाट ९ हजार ३ सय ६० पाउण्ड जुटिइसकेको छ ।

राजदूत आचार्य

कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको स्वास्थ्य सेवामा एनडीए यूकेको भूमिका अतुलनीय र प्रशंसनीय रहेको बताए ।

उनले नेपालका चिकित्सकलाई प्रशिक्षणदेखि प्राकृतिक विपत्तिमा आर्थिक सहयोग समेत गरेर एसोसिएसनले मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको पनि उल्लेख गरे ।

राजदूत आचार्यले नेपालमा मानव बेचबिखन रोक्न धेरै प्रयास भएका तर अझ सबै निकायबीच समन्वयात्मक प्रयास र जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिए ।

आधुनिक दासत्व र महिला बेचविखनसम्बन्धि 
संसदीय सल्लाहकार एवं यूके ब्यारिस्टर परोसा चन्द्रनले आफ्नो कार्यक्षेत्र र त्यस्तो वर्गको मानवअधिकार पक्षमा भएका न्यायिक सफलता एवं नेपालमा महिला बेचविखनको डरलाग्दो तथ्यांक प्रस्तुत गरेकी थिइन् ।

एनडीए यूके अध्यक्ष डा. सन्जिव नेपालीले एसोसिएसनका च्यारिटी गतिविधिबारे प्रकाश पारे । सन् १९८५ मा स्थापित एसोसिएसनले भूकम्प, कोभिड महामारीसहित प्राकृतिक विपत्ति र सीमान्तकृत समुदायका लागि स्वास्थ्य सेवा प्रदान गर्दै आएको डा. नेपालीले बताए ।

एनडीए यूके अध्यक्ष डा. सन्जिव नेपाली

कार्यक्रम संयोजक एवं महासचिव डा. आरती हमालले स्वागत मन्तव्यका क्रममा मानव बेचविखन र यौन शोषणबाट मुक्ति पाएका महिला, बालिकाहरुको मानसिक एवं सामाजिक प्रभावबारे बताउंदै च्यारिटी गर्न सबैलाई अपिल गरेकी थिइन्। उनले कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार समेत व्यक्त गरिन् ।

कार्यक्रममा लन्डनकी गायिका सितु खरेलले गीत र चिकित्साकी विद्यार्थी प्रतिष्ठा त्रिपाठीले आकर्षक नाच प्रस्तुत गरेका थिए । जोस ब्याण्डले लाइभ म्यूजिक प्रस्तुत गरयो । डा. देव हमालले धन्यवाद मन्तव्य दिए ।

सो अवसरमा राफल ड्र र अक्सन पनि गराइएको थियो । पल्लवी शाक्य र सेलिना जोशीले गराएको अक्सनबाट उल्लेख्य रकम संकलन भएको थियो । अक्सनमा राखिएकामध्ये डा. सन्दुक रुइतको बायोग्राफी ‘द बेअरफुट सर्जन’ ५ सय पाउण्ड र डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र परराष्ट्र’ दुई सय पाउण्डमा खरिद भएको थियो । महासचिव डा. आरती हमालले नेपाल गएका बेला दुवै कृतिका लेखकसंग भेटेर हस्ताक्षर गराएकी थिइन् ।

च्यारिटी डिनरमा दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, बेलायती सांसद तथा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्मा, स्वीमर गौरिका सिंह लगायत सयौं सहभागी थिए ।

कार्यक्रम संयोजक एवं महासचिव डा. आरती हमाल

अक्सन गरिएका सामग्रीहरु

सबै तस्विरहरु- राजेन्द्र पौडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू