बुधबार, वैशाख १९, २०८१
15:08 | १९:५३

बेलायती राजनीतिमा नेपाली युवा डाक्टर, उत्रिए चुनावी मैदानमा

नेपाली लिङ्क अप्रिल १८, २०२४


लन्डन- बेलायतमा कार्यरत नेपाली मूलका एक युवा डाक्टर स्थानीय बेलायती राजनीतिमा होमिएका छन्। नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटको काउन्सिलर बन्न ३४ वर्षीय डा विशाल गुरुङ चुनावी मैदानमा उत्रिएका छन्।

रश्मोर बरोअन्तर्गत अल्डरसटको वेलिङटन वडामा आगामी मे २ मा हुने निर्वाचनमा डा गुरुङ कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार छन् । पार्टीको आन्तरिक भोटिङ मार्फत उम्मेदवार छनोट भएका उनी यतिबेला वडाबासीहरुको घरघर पुगेर चुनावी प्रचारप्रसार गर्न व्यस्त छन् ।

डा गुरुङ उम्मेदवार रहेको वडामा यसअघि कञ्जरभेटिभ पार्टीबाटै नेपाली मूलका जीव बेल्वासे र प्रवेश केसी काउन्सिलर निर्वाचित भएका थिए । गत वर्ष लेबर पार्टीबाट नेपालीमूलका धन सार्की पनि काउन्सिलर निर्वाचित बनेका छन् ।

डा गुरुङको चुनावी अभियान

लेबर पार्टीको वर्चश्व रहंदै आएको वेलिङटन वडाका तीन सीटमध्ये अहिले चुनाव हुन लागेको सीट बाहेकका दुई सीटमा लेबर पार्टी काउन्सिलर छन् ।

वडाका जम्मा ४१ सय मतदातामध्ये नेपाली मूलका मतदाताहरुको संख्या भने साढे ५ सय हाराहारीमा छ ।

‘निर्वाचन चुनौतिपूर्ण छ । तर पनि म आत्मविश्वाससाथ अगाडि बढिरहेको छु। नतिजा हाम्रो पक्षमा ल्याउन स्थानीय नेपाली समुदायको साथले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु’, डा गुरुङले नेपालीलिंकसंग भने।

पूर्व गोर्खाका सन्तान डा गुरुङ सन् २०१६ मा बेलायत आएका हुन् । उनको पुख्र्यौली घर स्याङ्जा पुतलीबजार नगरपालिकाअन्तर्गत् राङभाङ चिरुवा हो । सन् २०१४ मा फिलिपिन्सबाट एमबीबीएस पूरा गरेलगत्तै एक वर्ष त्यतै काम गरेका गुरुङले नेपाल फर्किएर एक वर्ष काठमाडौं मोडल अस्पतालमा सेवा गरे ।

बेलायत आएर केयर होमबाट काम शुरु गरेका उनले पछि फ्लिटको जीपीमा पनि करिब डेढ वर्ष काम गरे। अहिले भने उनले वीन्चेष्टरमा ‘केयर मार्क’ नामक डोमिसिलियरी केयर (होम केयर) सेवा सञ्चालन गर्दै आएका छन् ।

सामाजिक क्षेत्रमा पनि सक्रिय रहंदै आएका डा बेलायतको सबैभन्दा ठूलो नेपाली संस्था तमुधिं यूकेका वर्तमान महासचिव हुन् । ग्रेटर रश्मोर नेपाली कम्युनिटीमा पनि सक्रिय उनले विगतमा एनआरएनए यूकेको स्वास्थ्य विभाग प्रमुखका रुपमा बेलायत र नेपालमा समेत केही च्यारिटी स्वास्थ्य शिविर एवम् सचेतना कार्यक्रमको अगुवाइ गरिसकेका छन्।

सन् २०१९ मै कञ्जरभेटिभ पार्टीको सदस्यता लिएका डा गुरुङ पार्टीमै बढी सक्रिय बनेको भने सन् २०२२ देखि हो। हाल उनी अल्डरसट एण्ड नर्थ ह्याम्पशायर कञ्जरभेटिभ एशोसिएसनको डेपुटी चेयरम्यान हुन् ।

स्थानीय कन्जरभेटिभ सांसद एवम् मन्त्री लियो डोकर्टीका साथ गुरुङ

‘बेलायतको स्थानीय सरकार र पोलिसी मेकिङ तहमा पनि नेपाली समुदायको प्रभावशाली प्रतिनिधित्व आवश्यक छ भन्ने मलाई लाग्छ’, डा गुरुङले राजनीतितर्फ आकर्षणको रहस्य खोल्दै भने, ‘हामीले समुदायमा त धेरै काम गर्दै आयौं। तर अब राजनीतिक तहमा पनि जोडिन सक्नुपर्छ । त्यसरी हाम्रो काम थप उपलब्धिपूर्ण बन्छ भन्ने मेरो मान्यता छ ।’

आफ्नो राजनीतिक सक्रियताले बेलायतको नेपाली समुदायको युवा पुस्तालाई राजनीतितर्फ प्रेरित गरोस् भन्ने इच्छा रहेको उनले सुनाए ।

‘हुन त अहिले नै निर्वाचनमा जाने मेरो तयारी थिएन। तर पार्टीले उठ्नुपर्यो भनेपछि पछि हट्ने कुरा भएन’, भविष्यमा बेलायती सांसद बन्नेसम्मको लक्ष्य बनाएका डा गुरुङ भन्छन्, ‘तलैदेखि काम गर्दै, अनुभव संगाल्दै गए माथि पुग्न सजिलो हुन्छ भन्ने लागेर मेहनत गरिरहेको छु ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू