बुधबार, वैशाख १९, २०८१
01:56 | ०६:४१

बेलायतमा आनी छोइङ च्यारिटी कन्सर्ट सफल पार्न प्रमुख संघसंस्था एक ठाउँ

नेपाली लिङ्क अप्रिल १८, २०२४

लन्डन- आगामी मे पहिलो साता बेलायतमा हुने गायिका आनी छोइङ ड्रोल्माको च्यारिटी कन्सर्ट सफल पार्न बेलायतस्थित दर्जन बढी नेपाली संघसंस्था एक ठाउँ उभिने भएका छन् ।

नेपालमा मानवसेवा आश्रम भवन निर्माण सहयोगार्थ मे ५ तारिख आइतबार क्याम्बर्लीको लेकडेल कन्ट्री क्लबमा तय ‘इनर मेलोडी फर इनर पिस’ मा संघसंस्थाहरुले सहकार्य गर्ने भएका हुन्।  

आयोजक मानवसेवा आश्रम बेलायत शाखा सचिव यादव श्रेष्ठका अनुसार हालसम्म एक दर्जन संस्थाको ऐक्यबद्धतासहित सहकार्य पक्का भइसकेको छ भने थप संस्थाहरुसँग छलफल चलिरहेको छ।

तमुधिं यूके, पासा पुच: गुथि यूके, क्षेत्री समाज यूके, बुद्ध फाउन्डेसन् यूके, ग्रेटर रश्मोर नेपाली कम्युनिटी, ग्रेटर रेडिङ नेपाली कम्युनिटी, बुद्धिष्ट कम्युनिटी सेन्टर, बुद्धिष्ट गुम्बा रेडिङ, शिव कल्चरल सेन्टर अल्डरसट, नेपाली भिलेज यूके, क्याट यूकेलगायतले कार्यक्रममा सहकार्य गर्ने सहमति भइसकेको छ।  

सहकार्य गर्ने हरेक संस्थाले आफ्नो तर्फबाट कार्यक्रममा कम्तीमा ५० जनाको सहभागिता गराउनुका साथै आफ्नो नेटवर्कमा प्रचारप्रसार पनि गर्नेछन्।  

अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको लेकसाइड कन्ट्री क्लब क्याम्बर्लीमा कार्यक्रम तय छ । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने आयोजकले बताएका छन्।

लाइभ ब्यान्डको प्रस्तुतिमा हुने आनी छोइङ कन्सर्टका लागि नेपालबाट ७ जनाको सांगीतिक टोली बेलायत आउंदैछ।  

झण्डै ८ वर्षपछि गायिका आनीको बेलायतमा हुन लागेको कन्सर्टबाट एक लाख पाउण्ड बढी वचत गर्ने लक्ष्य आयोजकको छ ।

मानवसेवा आश्रम बेलायत शाखा अध्यक्ष सुनिलबाबु खड्काले पुण्य उद्धेश्यसहित हुन लागेको कार्यक्रम सफल पार्न बेलायतवासी सम्पूर्ण नेपालीहरुको सहयोग अपील गरेका छन्।

कन्सर्ट टिकट लिन यो लिंकमा क्लिक गर्नुहोस्:

साथै, आयोजक टीमका सदस्यहरुलाई सम्पर्क गरेर पनि टिकट लिन सकिनेछ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू