मंगलबार, वैशाख १८, २०८१
20:58 | ०१:४३

गोर्खा वार्ता निष्कर्षमा पुर्‍याउन राजदूतले मागे बेलायती विदेश मन्त्रालयको सहयोग

नेपाली लिङ्क अप्रिल १६, २०२४


लन्डन- बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भूतपूर्व गोर्खाहरुको सम्वन्धमा जारी त्रिपक्षीय वार्ता निष्कर्षमा पुर्‍याउन बेलायती विदेश मन्त्रालयको सहयोग आव्हान गरेका छन्।

रक्षा मन्त्रालयसँग हुँदै आएको वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला राजदूत आचार्यले बेलायत सरकारकी विदेश राज्यमन्त्री आन म्यारी ट्रेभेल्यानसँग वार्ता निष्कर्षमा पुर्‍याउन आवश्यक पहलका लागि आग्रह गरेका हुन्।  

सोमबार लन्डनस्थित बेलायती विदेश मन्त्रालयमा भएको मन्त्री ट्रेभेल्यानसँगको भेटवार्तामा राजदूत आचार्यले गोर्खा मुद्धालाई टुंगो दिन बेलायती विदेश मन्त्रालयका तर्फबाट पनि निर्णायक भूमिकाको अपेक्षा व्यक्त गरेको लन्डन दूतावासका सेकेण्ड सेक्रेटरी रामबाबु नेपालले नेपालीलिंकलाई बताए। 

जवाफमा मन्त्री ट्रेभेल्यानले यसबारे आवश्यक जानकारी लिएर मिल्दो भूमिका निर्वाह गर्न पहल गर्ने आश्वासन दिएकी छन्।  

सो अवसरमा राजदूत आचार्यले मन्त्री ट्रेभेल्यानसँग आसन्न नेपालको लगानी सम्मेलनमा बेलायतको सहभागिताबारे पनि छलफल गरेका थिए।

सम्मेलनका लागि यसअघि नै निमन्त्रणा भइसकेको सन्दर्भमा भएको भेटमा मन्त्री ट्रेभेल्यानले बेलायत सरकारको विदेश मन्त्रालयका प्रतिनिधि सम्मेलनमा सहभागी हुने जानकारी गराइन्।  

यही अप्रिल २८ र २९ तारिख काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलनमा बेलायत सरकारको डिपार्टमेन्ट फर बिजनेस एन्ड ट्रेडबाट पनि सहभागिता रहने पक्का भएको दूतावासले जनाएको छ।

उक्त मन्त्रालयका राज्यमन्त्री एन्ड्रयू मिसेलले हालै गरेको नेपाल भ्रमणपछि एक वक्तव्य जारी गर्दै सन् २०३० सम्ममा १ विलियन पाउन्डको बेलायती लगानी नेपाल लैजाने प्रतिवद्धता गरिसकेका छन्।  

सम्मेलनमा बेलायत सरकारको लगानीकर्ता निकाय ‘बिआइआइ’ (ब्रिटिश इन्टरश्नल इन्भेष्मेन्ट) र यूके एक्स्पोर्ट फाइनान्सबाट पनि सहभागिता रहने अपेक्षा छ। त्यसबाहेक बेलायतबाट कयौं बेलायती तथा नेपाली लगानीकर्ताहरु पनि सम्मेलनमा भाग लिन काठमाडौँ जांदैछन्।

सम्मेलनमा मुख्यत: हाइड्रो, सोलार उर्जा, सिमेन्ट उद्योग, बैंकिङ, दूरसञ्चारलगायत क्षेत्रमा विदेशी लगानी जुटाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू