मंगलबार, वैशाख १८, २०८१
22:36 | ०३:२१

बेलायतमा बेरोजगारी फेरि बढ्यो

नेपाली लिङ्क अप्रिल १६, २०२४

लन्डन- आर्थिक मन्दीबाट बाहिरिने प्रयासमा रहेको बेलायतमा बेरोजगारी पनि वाधा बनेको छ। पछिल्लो समय यहाँको श्रमबजार सुस्ताउंदै जाँदा बेरोजगारी बढेको तथ्यांक सार्वजनिक भएको छ।

गत डिसेम्बरदेखि फेब्रुअरीसम्मको त्रैमासिक अवधिमा बेलायतको बेरोजगारी दर बढेर ४ दशमलव २ प्रतिशत पुगेको छ जुन दर पछिल्लो ६ महिनाकै उच्च हो।  

‘द अफिस फर नेश्नल स्टाटिस्टिक्स’ को तथ्यांकले जागिर छोडेका वा काममा निष्क्रिय बन्नेहरुको संख्या बढेको देखाएको छ।  

उता अर्को तथ्यांकले मुद्रास्फिति भने उल्लेख्य रुपमा घट्दै गएको देखाएको छ। सन् २०२२ को अक्टोबरमा ११ दशमलव १ प्रतिशतको रेकर्ड उच्च रहेको मुद्रास्फितिको दर गत फेब्रुअरी महिनासम्मको एक वर्षमा ३ दशमलव ४ प्रतिशतमा झरेको छ।  

ओएनएसको तथ्यांकअनुसार गत डिसेम्बरदेखि फेब्रुअरीसम्मको अवधिमा रोजगारी दर ७४ दशमलव ५ प्रतिशतमा झरेको छ। त्यस्तै, १६ देखि ६४ वर्ष उमेरभित्र आर्थिक रुपमा निष्क्रिय रहेका मानिसहरुको संख्या २१ दशमलव ८ प्रतिशतबाट बढेर २२ दशमलव २ प्रतिशतमा पुगेको छ।  

बजारमा रोजगारीका अवसरहरु पनि पछिल्ला महिनामा घटेको तथ्यांक छ। यो वर्षको पहिलो तीन महिनामा रोजगारीका अवसरहरु पछिल्लो सोही अवधिको तुलनामा १३ हजारले घटेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू