मंगलबार, वैशाख १८, २०८१
19:49 | ००:३४

इंग्ल्याण्डको मेडस्टोन टाउनबाट तेस्रो कार्यकालका लागि काउन्सिलर लड्दै खड्का

नेपाली लिङ्क अप्रिल १६, २०२४

काउन्सिलर खड्का

लन्डन –  इंग्ल्याण्डको मेडस्टोन टाउनबाट काउन्सिलर पदमा निर्वाचित दिनेश खड्का तेस्रो कार्यकालका लागि चुनाव लड्ने तयारीमा लागेका छन्।

पश्चिम नेपालको दाङमा जन्मिएका काउन्सिलर खड्का पछिल्लो पटक २०२३ मा ४ वर्ष कार्यकालका लागि निर्वाचित भएका थिए, तर मेडस्टोन बरो काउन्सिलको सीमा परिवर्तनले गर्दा सबै ५५ काउन्सिलरहरुलाई आउँदो मे २ मा हुन गइरहेको स्थानीय चुनावमा पुनः उम्मेदवार हुन बाध्य तुल्यायो। सीमा परिवर्तनका कारण अब केवल ४९ सिटका लागि बरो काउन्सिलरहरूको चुनाव हुन गइरहेको छ ।

पेशाले खाद्य वैज्ञानिक तथा खाद्य विज्ञानमा पीएचडी पूरा गर्ने अन्तिम चरणमा रहेका खड्का आगामी वैशाखमा हुने निर्वाचनमा सफल हुनेमा आशावादी छन् । 

शहरमा स्वच्छ पर्यावरण, सबैका लागि हरियाली खुला ठाउँको वातावरण, स्थानीय वासिन्दाका लागि गुणस्तरीय आवास र यातायात सेवामा सहज सार्वजनिक पहुँच उनका प्राथमिकताहरू हुन्।

विगत ६ वर्षदेखि लिबरल डेमोक्र्याटिक पार्टीबाट निर्वाचित काउन्सिलरको रुपमा कार्यरत खड्काले आफ्नो कार्यकालमा स्थानीय सडक मर्मतसम्भार, सार्वजनिक मार्ग पुन: निर्माण, फोहोरमैला व्यवस्थापन, पैदल यात्रु क्रसिङ, पार्क मर्मत, बत्ती जडान जस्ता कामहरु पुरा गरेको बताए। 

“सबैभन्दा महत्त्वपूर्ण कुरा कोलिस ग्रीन ट्रस्टका लागि लगभग ४००  बिरुवा रोप्नका लागि जमीन छुट्याउन सकेकोमा मलाई धेरै खुसी लागेको छ,” खड्काले भने।

केन्ट प्रहरीमा गएको १५ वर्षदेखि स्वयंसेवी सल्लाहकार साथै स्थानीय ट्रष्टको बोर्ड ट्रस्टीको रूपमा काम गरिसकेका खड्काले सन् २०१७ देखि स्थानीय बेलायती समाजसंग होली पर्व मनाउन पहल गरेकाले पनि स्थानीयवासीमा परिचित छन् ।


सन् २०२३ को निर्वाचनमा खड्काले कुल खसेको ३७ प्रतिशत मत प्राप्त गरेका थिए भने दोस्रो स्थानमा रहेका लेबर पार्टीका उम्मेदवारभन्दा उनी २४० मतले अगाडि थिए 

दाङ, सतबरिया घर भएका खड्का राप्ती समाज यूकेका अध्यक्ष पनि हुन् ।‘मैले यो चुनावमा पार्क लगाएतका  पार्क र खुला स्थलहरुको सुरक्षा गर्ने, स्थानीय समुदायको तर्फबाट आवाज उठाउने तथा वायु प्रदूषण घटाउने जस्ता मुख्य मुद्दाहरु उठाइरहेको छु’- उनले भने। 

उनले अहिलेसम्म स्थानीय जनताकोतर्फबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउंदै सबैलाई सहयोगका लागि अपिल पनि गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू