सोमबार, जेठ १४, २०८१
21:49 | ०२:३४

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक–थ्रु’

नेपाली लिङ्क अप्रिल १५, २०२४

तस्विर- अनलाइन खवर

काठमाडौं । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।

सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ। काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी ३ मिनेटमै पुगिने आयोजनाले जनाएको छ ।मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । आपत्कालीन सुरुङको गत साउन २२ मा ‘ब्रेक थ्रु’ भइसकेको छ । अहिले ‘फिनिसिङ’ भइरहेको छ ।

आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ

सर्वप्रथम नयाँ वर्ष २०८१ सालको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षको सुरूवातसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्याहरू समाधान गर्नका लागि यो आयोजना परिकल्पना गरिएको थियो ।

फलस्वरूप, सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने छ । साथै ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरहरूबिचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउनेछ । यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धी दस्ताबेज निर्माण हुनेछ । यसले नेपाललाई सुरूङ युगमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्नेछ । आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहनेछ ।

सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठुलो भूमिका खेल्नेछ ।

पूर्वाधार विकासको कुरा गर्दा हामीले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि अहोरात्र मिहेनत गरिरहेका छौँ । मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको भर्चुअल मनिटरिङ्ग गर्दै आएको छु । खुसीको कुरा, सुनकोशी मरिन डाइभर्सन सिँचाइ आयोजनाको पनि सुरूङ छिटै ‘ब्रेक–थ्रु’ हुँदैछ । यसका साथै निर्माणाधीन कोशी, कर्णाली कोरिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौँ तराइ–मधेश फास्ट ट्रयाकले पहाड मधेशलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउनेछ । यी परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्नेछ ।

नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी हाम्रोसामु छ । वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लजिस्टिक खर्च घटाउँदै उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढाउने लजिस्टिक पूर्वाधार आजको आवश्यकता हो । काठमाडौँबाट नारायणगढ, भैरहवा, वीरगन्ज, पोखरा विराटनगरलगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रुतमार्गहरू बनाउनु पर्दछ । चीन, भारत, भियतनाम, थाइल्यान्डजस्ता उदीयमान अर्थतन्त्र भएका देशहरूले पनि पछिल्ला वर्षहरूमा पूर्वाधार विकासलाई प्राथमिकता दिइरहेका छन् । हामीले पूर्वाधार विकासमा फड्को मार्न यस्तै बृहत् र फराकिलो तथा एकीकृत सोचसहितको राष्ट्रिय पूर्वाधार गुरुयोजना निर्माणलाई प्राथमिकता दिनैपर्दछ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठुला पूर्वाधार विकासमा लगानी आकर्षित गर्ने मेरो विश्वास छ ।

विश्वव्यापीकरणको उच्चतम लाभ लिँदै नेपालले आधुनिक पूर्वाधार विकासका लागि चाहिने आवश्यक पुँजी र प्रविधिलाई विशेष जोड दिन आवश्यक छ । यस कार्यका लागि नीतिगत सुधार र विश्व बजारसँग वित्तीय उपकरणलाई जोड्न पहल गर्नुपर्नेछ ।

यही वैशाख १६ र १७ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना पनि सम्पन्न गर्ने तयारी भइरहेको छ । यसले नेपालको विकासमा लगानीका सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने प्रयास गर्नेछ । यसका लागि आवश्यक नीतिगत सुधारका कामहरू भइरहेका छन् । नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई प्रोत्साहन र आकर्षित गर्न आवश्यक रणनीतिका साथ अघि बढ्ने सरकारको तयारी छ ।

सरकारको नयाँ समीकरणपछि राजस्व सङ्कलनले सुधारको लय समातेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म तीन खर्ब ६७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । आयातित इन्धन घटाउँदै विद्युतीय गाडीमा प्रोत्साहन, सिमेन्ट निर्यातमा भएको महत्त्वपूर्ण प्रगति, जस्तपाता र स्टिलको निर्यातमा बढोत्तरी, पर्यटक आगमनमा इतिहासकै नयाँ रेकर्ड, उपत्यकाबाहिर हाउजिङ र अपार्टमेन्ट व्यवसायको विस्तार, भारत लगायत तेस्रो मुलुकमा विद्युत निर्यातको समझदारी र तयारी, सडक पूर्वाधारमा सुरूङमार्गको नयाँ युगमा प्रवेश, रेमिट्यान्समा वृद्धिका कारण बाह्य व्यापारमा सहजता, सूचना–प्रविधिमा अर्बौँको आइटी सेवा निर्यात, स्टार्टअप बिजनेसमा प्रगति लगायतका आर्थिक परिसूचकहरूले हामीलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेशका निम्ति महत्त्वपूर्ण ऊर्जा दिएका छन् । तसर्थ, ‘‘केही हुँदैन’’ भन्ने निराशाजनक भाष्य चिर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ मार्गमा ऐक्यबद्धता जाहेर गर्दै राष्ट्रिय उत्साह सिर्जना गर्न म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु ।

आजको दिनबाट नेपाल पूर्वाधार विकासको नयाँ गन्तव्यमा प्रवेश गरेको छ । यस महत्त्वपूर्ण अवसरमा सुरूङमार्ग निर्माणमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापान सरकारलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु । यसले नेपाल र जापान सरकारबिच मात्र नभएर जनस्तरमा रहँदै आएको घनिभूत सम्बन्धलाई थप सुदृढ गरेको मैले महसुस गरेको छु ।

अन्त्यमा, नागढुङ्गा सुरूङमार्ग निर्माण कार्य सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, परामर्शदाता, निर्माण कम्पनी, कर्मचारीहरू, मजदुर साथीहरू लगायत सम्पूर्ण जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । तपाईँहरूको समर्पण, लगनशीलता र जिम्मेवारीप्रतिको अटल प्रतिबद्धताबाट प्राप्त सफलताका निम्ति हृदयदेखि सम्मान व्यक्त गर्दछु । धन्यवाद ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू