मंगलबार, १९ मे, २०२६
09:38 | १४:२३

रेडिङमा पहिलोपटक टेन के रनका लागि नेपाली समुदाय उत्साहित

नेपाली लिङ्क मे १९, २०२६

दाँयाबाट क्रमश: दौडको संयोजन गरिरहेका अशोक चापागाईं र सुशान्त चुँडाल एवं एनआरएनए यूके कोषाध्यक्ष सरोज थापा।

लन्डन- बेलायतको रेडिङस्थित नेपाली समुदाय यतिखेर पहिलोपटक हुन लागेको ‘रेडिङ नेपाली रनर्स १० के दौड’ को तयारी गरिरहेको छ ।

३१ मे आइतबार हुने दौडमा भाग लिनेहरु अभ्यासमा व्यस्त छन् भने आयोजकलाई इभेन्ट व्यवस्थापनको तयारीले व्यस्त बनाएको छ ।

दौड प्रवन्धक अशोक चापागाईं र सुशान्त चुँडालले रेडिङ शहरमा पहिलोपटक स्थानीय नेपाली समुदायले आयोजना गरेको र नेपाल रन यूकेद्वारा सहयोग प्राप्त दौडको तयारी लगभग पूरा भएको जनाएका छन् ।

रेडिङका नेपालीहरु समेत अहिले दौडप्रति आकर्षित भइरहेका बेला पहिलोपटक एभरेष्ट डेका अवसरमा टेन के रन आयोजना गरिएको चापागाईंले बताए ।

दौड आयोजना गर्नुको खास उद्देश्य स्वास्थ्य जागरूकता बढाउनुका साथै स्थानीय समुदायहरूलाई एकसाथ ल्याउनु रहेको चापागाईंको भनाइ छ ।

दौडमा बेलायतका डार्टफोर्ड, बेक्सली, अल्डरसट र बेजिङस्टोकबाट मात्र होइन्, स्टकहोमबाट समेत धावकहरू सहभागी हुने कार्यक्रम छ । दौडमा झण्डै तीनसय धावक सहभागी हुने अपेक्षा छ ।

आयोजकका अनुसार, फिनिसर टिसर्ट, पदक र ‘टोकन अफ लभ’ सबै प्रवन्ध भइसकेको छ । रेस बिब्स्, गुडी ब्याग र अन्य सामग्री तयारी अवस्थामा छन् । टोलीले दौडका दिन सबै कुरा सहज रूपमा सञ्चालन गर्न मार्सल लोकेसन र माइल मार्किङ तीन पटक जाँच भइसकेको जनाएका छन् । ‘हामी पूर्ण रुपमा तयार छौं’, अशोक र सुशान्तले भने ।

रेडिङस्थित नेपाली समुदायमाझ फुटबल प्रतियोगिता र अन्य खेल गतिविधि निरन्तर हुने गरेपनि व्यवसायिक रुपमै टेन के रन यसअघि कहिल्यै भएको थिएन ।

दौडबारे थप जानकारी वा सम्पर्कको लागि आयोजक रेडिङ नेपाली रनर्सको फेसबुक पेजमा जान यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू