मंगलबार, वैशाख १८, २०८१
19:34 | ००:१९

लन्डनको बुद्धजयन्ती कार्यक्रम जुन २ तारिख आइतबार वुलीचमा

नेपाली लिङ्क अप्रिल १५, २०२४


लन्डन-लन्डनको ट्राफल्गर स्क्वायरमा वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यस वर्ष लन्डन वुलीचमा आयोजना हुने भएको छ ।

मर्मतसम्भार कारणले नियमित स्थान उपलब्ध नभएपछि आयोजक बुद्ध फाउण्डेसन यूकेले वुलीच आर्सनलको गोर्डन स्क्वायरमा कार्यक्रम गरिन लागेको जनाएको छ । आगामी जुन २ तारिख आइतबार दिउँसो २ देखि साँझ ७ बजेसम्म कार्यक्रम तय छ ।

यसैबीच फाउण्डेसनले आइतबार कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठक गरेर कार्यक्रम तयारीका लागि विभिन्न छलफल तथा निर्णयहरु गरेको छ ।

यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक समेत रहेकी उपाध्यक्ष प्रसुना कंडेलका अनुसार कार्यक्रम तयारीका सम्बन्धमा यसै साता लन्डन दूतावाससंग एक छलफल हुने भएको छ ।

कार्यक्रमको लागि विभिन्न विदेशी कूटनीतिक प्रतिनिधिका साथै अन्य विशिष्ट अतिथिमा कसलाई निम्त्याउने भन्नेबारे पनि दूतावाससंग छलफल गरिनेछ ।

त्यस्तै, आयोजक बुद्ध फाउण्डेसनले बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुसंग पनि अप्रिल २१ तारिख आइतबार भर्चुअल छलफल गर्ने भएको छ । विगतदेखि नै बुद्धजयन्ती कार्यक्रममा यहाँका प्रमुख नेपाली संघसंस्थाको सहकार्य रहंदै आएको छ ।

फाउण्डेसनले कार्यक्रमस्थलमा बुद्ध र बौद्ध दर्शनसम्बन्धी पुस्तकहरुको जानकारीमुलक स्टल राख्ने निर्णय गरेको छ । जसका लागि स्वेच्छिक रुपमा सहयोग गर्न तथा सान्दर्भिक पुस्तकहरु उपलब्ध गराउन सम्बन्धित सबैमा आव्हान गरिएको छ ।

फाउण्डेसनले जुन २ को कार्यक्रममा सहभागिताका लागि बेलायतवासी सम्पूर्ण नेपालीहरुमा अपील गर्दै उक्त दिन कुनै कार्यक्रम नजुधाइदिन सबै नेपाली संघसंस्थालाई आग्रह गरेको छ ।

यस वर्षको बुद्धजयन्ती कार्यक्रम संयोजक उपाध्यक्ष प्रसुना कंडेल तथा सहसंयोजकद्वय ह्यारी गुरुङ र सुर्जे गुरुङ छन् भने सांस्कृतिक संयोजक दिलु थापा र आर्थिक संयोजक राजन खकुराल हुन् ।

सन् २०१७ मा स्थापित बुद्ध फाउण्डेसन यूकेले त्यसयता लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, एनआरएनएलगायतको सहकार्यमा ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रम गर्दै आएको थियो । त्यसअघि पहिलोपटक कपिलवस्तु समाज यूकेको आयोजनामा लन्डन पार्लियामेन्ट स्क्वायरमा कार्यक्रम गरिएको थियो ।

बुद्धको जन्मस्थलका रुपमा लुम्बिनीलाई चिनाउँदै बुद्धका शान्ति सन्देश संसारभर फैलाउनुका साथै नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउनेसम्म कार्यक्रमको लक्ष्य छ ।

फाउण्डेसन अध्यक्ष दीपक श्रेष्ठले बुद्धजयन्ती कार्यक्रम सफल पार्न बेलायतवासी सबै नेपाली र संघसंस्थाको सक्रिय साथ एवम् सहभागिताका लागि आव्हान गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू