बुधबार, वैशाख १९, २०८१
01:03 | ०५:४८

हेल्प नेपाल बालगृह सहयोगार्थ लन्डनमा भारतीय गायकले गरे च्यारिटी कन्सर्ट

नेपाली लिङ्क अप्रिल ८, २०२४

लन्डन- हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरेको बालगृह सहयोगार्थ लन्डनमा एक च्यारिटी कन्सर्ट सम्पन्न भएको छ।  

हेल्प नेपाल नेटवर्क यूकेको आयोजनामा शनिबार साँझ वुल्लीचको ट्रामसेड थिएटरमा भारतीय मूलका गायक अर्को मुखर्जीले सांगीतिक प्रस्तुति गरेका हुन्।

कार्यक्रममा गायक मुखर्जीले अधिकांश नेपाली गीत गाएका थिए ।त्यस्तै, दुई वटा नेवारी र एकएक वटा हिन्दी र बंगाली गीत समेत गाएर उनले दर्शकलाई मनोरञ्जन दिलाए ।  

भारतको पश्चिम बंगाल घर भएका गायक मुखर्जीले यसअघि पनि हेल्प नेपालकै सहयोगार्थ लन्डनमा सांगीतिक प्रस्तुति गरेका थिए। दार्जिलिङ र नेपालका कयौं शहर समेत पुगेर उनले सांगीतिक शोहरु गरिसकेका छन्।  

कार्यक्रममा संकलन भएको रकमबाट खर्च कटाएर बचत हुने रकम बालगृह सहयोगार्थ नेपाल पठाइने हेल्प नेपाल नेटवर्क यूके अध्यक्ष सचिन श्रेष्ठले बताए।

उनले कार्यक्रमबाट झन्डै तीन हजार पाउन्डको हाराहारीमा रकम संकलन भएको र त्यसको करिब आधा रकम खर्च भएको जनाउँदै वचत हुने करिब एक हजार पाउन्ड रकम सहयोग पठाइने उल्लेख गरे। 

कार्यक्रम सफल पार्न योगदान गर्ने हेल्प नेपाल नेटवर्क यूकेको टीम, गायक मुखर्जी र उनको टीमका साथै सबै सहयोगी एवम् सहभागीलाई अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू