बुधबार, वैशाख १९, २०८१
13:02 | १७:४७

विशेष कार्यक्रमसहित किरात राई यायोक्खा बेलायतको २०औं स्थापना दिवस

नेपाली लिङ्क अप्रिल ७, २०२४

लण्डन- किरात राई यायोक्खा बेलायतले संस्थाको २०औं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ । 

संस्थाका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा गत ६ अप्रिलका दिन किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा स्थापना दिवस भएको हो ।  

कार्यक्रमको प्रमुख अतिथि जगत राई र विशेष अतिथिमा द भ्वाइस अफ नेपाल पाँचौ श्रृंखला-२०२४ का विजेता गायक विनोद राई थिए ।

संस्थाका उपाध्यक्ष रि. मेजर दिल कुमार राईले हेल्थ एन्ड सेफ्टी ब्रिफिङ गरेका थिए । औपचारिक कार्यक्रममा स्मृति राईले संस्थाको २० वर्षे संक्षिप्त इतिहास वाचन गरेर सुनाएकी थिइन् ।

२०औं स्थापना दिवस कार्यक्रमको संयोजक समेत रहेकी उपाध्यक्ष अनिता राईले स्वागत मन्तब्य दिइन् । संयोजक राईले किरात राई यायोक्खा बेलायतको वर्तमान अवस्थातर्फ इंगित गर्दै संस्थाका उपस्थित संस्थापकहरुलाई संस्थाको निरन्तरता अनि उद्देश्य प्राप्तिमा को स्पष्ट भएर उभिएको छ उसलाई साथ दिन अनुरोध गरिन् ।

संस्था स्थापना दिवसको अवसर पारेर बेलायत भ्रमणमा रहेका द भ्वाइस अफ नेपाल विजेता गायक विनोद राईलाई स्वागत सम्मान गरिएको थियो । 


सभाध्यक्ष र प्रमुख अतिथिले राईलाई फेटा गुथेर सम्मान-पत्र प्रदान गरे । अरु उपस्थितले पनि खादाले उनको सम्मान गरेका थिए।

शुभकामना मन्तब्य दिने क्रममा संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार पदम राई बिइएमले आफू संस्थाको शैशवकालदेखिनै विभिन्न भूमिकामा सक्रिय रहंदै संस्थाको उन्नतकाल खण्डमा नेतृत्व प्रदान गरेको स्मरण गर्दै संस्थाको वर्तमान अवस्थाप्रति केही खिन्नता प्रकट गरे ।  

यसैगरी संस्थापकहरुको तर्फबाट संस्थापक नेपालधन राईले पनि एकतामा जोड दिए ।

शुभकामना दिने क्रममै विशेष अतिथि गायक राईले किराया बेलायतले आफूलाई जिताउन अभियान सञ्चालन गर्दै सहयोग गरेको र अहिले विशेष सम्मान गरेर अझ हौसला बढाइदिएको प्रति धन्यवाद ब्यक्त गरे । 

प्रमुख अतिथिको संक्षिप्त शुभकामना मन्तब्यपस्चात सभाध्यक्ष तथा अध्यक्ष चन्द्र बहादुर राईले सम्मानित गायक राईलाई बधाई दिंदै स्थापना दिवस सफल पार्न लागिपर्ने कार्यसमिति पदाधिकारी सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा अतिथिको रुपमा किराया बेलायत स्थानीय समन्वय परिषद ग्रेटर रस्मोर अध्यक्ष ध्रुवसरी राई, संस्थापकहरु रामधन राई, गजेन्द्र राई, डम्बर राई र हिराधन राई लगायतको उपस्थिति थियो ।

औपचारिक कार्यक्रम किराया बेलायतकी उपमहासचिव प्रमिला लाबुङ राईले संचालन गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू