बिहीबार, जेठ १०, २०८१
21:38 | ०२:२३

गोपी क्रन्दन

डा. कृष्ण उपाध्याय अप्रिल ७, २०२४

लेखक डा. कृष्ण उपाध्याय

पृष्ठभूमिः
गोपीहरुको यो प्रसंग श्रीमद्भागवाताको दशम स्कन्ध, उनन्चालीसौं अध्यायमा छ। यो गोपीहरुको भगवान वृन्दावनमा हुँदाको अन्तिम प्रेमलक्षणा भाव हो। यसपछि उनीहरुको भ्रमर गीत आउंछ, त्यो भगवानको मथुरा गमन पछिको हो र त्यो उनीहरुको अन्तिम स्तुति पनि हो। त्यो स्तुति यसपछि प्रस्तुत हुनेछ।

भगवान श्रीकृष्ण अहिले ११ वर्षको हुनुहुन्छ। यस्तै बेलामा कंसले केशी र व्योम भन्ने राक्षसहरु भगवानलाई मार्न भनेर पठाउंछ। भगवानले तिनीहरुको वध गर्नु हुन्छ। यसैबीच नारदजी आएर भगवानलाई भविष्यका लीलावारे स्मरण गराउंदै भन्नुहुन्छ अबको दुई दिनमा हामीले हजुरबाट चारुण र मुष्टिक वध देख्नेछौ। कंस, शिशुपाल सहितको भगवानले अन्त गर्नु हुनेछ भन्ने पनि स्मरण गराउनु हुन्छ।

यता, केशी र व्योमको वध पछि कंसले कृष्ण वलरामलाई मथुरामै बोलाएर मार्ने योजना अनुसार अक्रुरजीललाई कृष्ण र वलराम ल्याउने आदेश दिन्छ। अक्रुरजी मैले कस्तो जप, तप, पुजन वा सद्कर्म गरेको रहेछु, मैले केशवको दर्शन पाउने भए भनेर सोच्नु हुन्छ।

यथाः
किं मयाचरितं भद्रं किं तप्तं परमं तपः ।
किं वाथाप्यर्हते दत्तं यद्द्रक्ष्याम्यद्य केशवम् ।। १०ः३८ः३।।

उहाँ आफूं माथि कंसले दया गरेको ठान्नु हुन्छ। कंसले पठाएकै भएपनि मलाई भगवानले शत्रु ठान्नु हुन्न, म सम्बन्धि पनि हुँ भन्ने भाव राख्दै भगवानसँग भेट हुदाँका अनेकौ काल्पनिक चित्रहरु मनमा ल्याउनु हुन्छ र वृन्दावन जादाँ बाटोमा भगवानको भक्तिपूर्वक चिन्तन गर्दै जानुहुन्छ। वृन्दावन पुग्दा देख्नु हुन्छ वाहुवली कृष्ण र वलराम गाइ दुहुन जादैं गरेको देख्नु हुन्छ। भावविभोर भएर रथबाट हाम फालेर कृष्णको चरणमा दण्डवत गर्नु हुन्छ। भगवानले आफ्नो भक्त अक्रुरलाई उठाएर अंकमाल गर्नु भयो। वलरामजीले उहाँलाइ स्नान गराउनु भयो, चरण दवाउनु भयो र आराम गराउनु भयो।

त्यसपछि नन्दजीसँग भलाकुसारी हुन्छ, अक्रुरजीले यादवहरु र वसुदेवमाथि कंसले गरेको अत्याचार, नारदजीले कंश देवकीका कुनै सन्तान नछोड्न भनेको, र कृष्ण र वलरामलाई मथुरा वोलाएर मार्ने योजना भएको सवै सत्य बताउनु हुन्छ। कंसको यो योजना सुनेर कृष्ण र वलराम अट्टाहास गर्नुहुन्छ। त्यसपछि नन्दजीले सारा गाउंलाई राजाको निम्ति उपहार वटुल्न भन्नुहुन्छ र कृष्ण र वलरामलाई पनि अक्रुरजीले लिएर जानुहुन्छ भनेपछि गोपीहरु विक्षिप्त हुन्छन् उनीहरु आक्रोषित हुदै रुन्छन्। यसैलाई गोपीक्रन्दन भनिन्छ। गहिरो भाव छ यसको। यथाः

श्लोक र अर्थः
श्रीगोप्य ऊचुः

गोपी गोपीहरु भन्छन्ः

अहो विधातस्तव न क्वचिद् दया
संयोज्य मैत्र्या प्रणयेन देहिनः ।
तांश्चाकृतार्थान् वियुनङ्क्ष्यपार्थकं
विक्रीडितं तेऽर्भकचेष्टितं यथा ।। १९ ।।

हे विधाता! तिमीमा अलिकति पनि दया छैन। तिमी प्राणीहरुको विचमा मित्रता (स्नेह) गराउदछौ, अनि मनकामना पुरा नगराई नै विछोड गराउछौ। तिम्रो लीला पनि वालकको खेल जस्तो छ।
यस्त्वं प्रदर्श्यासितकुन्तलावृतं
मुकुन्दवक्त्रं सुकपोलमुन्नसम् ।
शोकापनोदस्मितलेशसुन्दरं
करोषि पारोक्ष्यमसाधु ते कृतम् ।। २० ।।

तिमी काला वट्टारिएका केशमा सुशोभित, तिनका काला काला रंग भएको सुन्दर गाला, अल्गो नाक र मृदु हासों सहितको सुन्दर अनुहार हामीलाइ देखाएर फेरी हाम्रो दृस्टी बाट पर लाँदै छौ। तिम्रो काम (असाधु) निन्दनीय छ।

क्रूरस्त्वमक्रूरसमाख्यया स्म न–
श्चक्षुर्हि दत्तं हरसे बताज्ञवत् ।
येनैकदेशेऽखिलसर्गसौष्ठवं
त्वदीयमद्राक्ष्म वयं मधुद्विषः ।। २१ ।।

(हे विधाता) तिमी क्रुर अहिले अक्रुरको नाममा आएका छौ। मुर्खले जस्तै तिमीले दिएका आँखा आफैले हरेर लाग्यौ। तिनै आँखाहरुले हामी भगवान कृष्ण (मधुद्विष) स्वरुप भित्र तिम्रो यौ उत्कृष्ट सवै सृष्टि देख्दथ्यों।

न नन्दसूनुः क्षणभङ्गसौहृदः
समीक्षते नः स्वकृतातुरा बत ।
विहाय गेहान् स्वजनान् सुतान्पतीं–
स्तद्दास्यमद्धोपगता नवप्रियः ।। २२ ।।

यी नन्दनन्दन कृष्ण एकै छिनमा मित्रता तोड्छन र जसले हामी सबैलाई मोहित गरे र हामीले पुत्र स्वजन छोडेर आयौं र हामीलाई फर्केर पनि हेर्दैनन (आसय –हामी फर्कंनौं, वाटो छेक्छौँ )

सुखं प्रभाता रजनीयमाशिषः
सत्या बभूवुः पुरयोषितां ध्रुवम् ।
याः संप्रविष्टस्य मुखं व्रजस्पतेः
पास्यन्त्यपाङ्गोत्कलितस्मितासवम् ।। २३ ।।

भोलिको (मिरमिरे) विहान मथुराका महिला हरुको लागि शुभ रहने छ र उनीहरुका कामना पुर्ण हुनेछन। किनभने व्रजका पति त्यहाँ पुग्दा उनीहरुले आँखाका कुना बाट निस्केका अमृत रुपी हासोँ पान गर्न पाउने छन्।

तासां मुकुन्दो मधुमञ्जुभाषितै–
र्गृहीतचित्तः परवान् मनस्व्यपि ।
कथं पुनर्नः प्रतियास्यतेऽबला
ग्राम्याः सलज्जस्मितविभ्रमैर्भ्रमन् ।। २४ ।।

हे अवलाहरु (हे गोपीहरु!) मुकुन्द धेर्यवान छन्, (पिता नन्दको) आज्ञाकारी पनि छन्, तर एक पटक नगरका (मथुरा)का मिठो बोलि भएका महिला हरुको लजालु हाँसोबाट भ्रमित भएर उनी कसरी फर्कन्छन् (आसय फर्कंन्नन्)

अद्य ध्रुवं तत्र द‍ृशो भविष्यते
दाशार्हभोजान्धकवृष्णिसात्वताम् ।
महोत्सवः श्रीरमणं गुणास्पदं
द्रक्ष्यन्ति ये चाध्वनि देवकीसुतम् ।। २५ ।।

दार्शाह, भोज, अन्धक, वृष्णी, सत्वत कुलका मानिसहरुले र लक्ष्मीका प्रिय, अनेकगुणले युक्त देवकी पुत्रलाई देख्ने छन् र उनीहरुका दृस्टीले (महोत्सव) आनन्द मनाउने छन्।
मैतद्विधस्याकरुणस्य नाम भू–दक्रूर इत्येतदतीव दारुणः ।

योऽसावनाश्वास्य सुदुःखितं जनं
प्रियात्प्रियं नेष्यति पारमध्वनः ।। २६ ।।

(अक्रुरलाई लक्षित गर्दै) यसरी निर्दयी कर्म गर्ने (कृष्णलाई लिएर जानेको नाम अक्रुर उपयुक्त होइन। उनी त क्रुर छन्। किनभने अति दुःखी (हामीलाई) मन नबुझाई (नसम्झाई) हाम्रा (प्रियात्प्रिय) प्रियात्तमलाई त्यहाँ लिएर जादैन थिए जहाँ हाम्रो दृष्टी पुग्दैन।

अनार्द्रधीरेष समास्थितो रथं
तमन्वमी च त्वरयन्ति दुर्मदाः ।
गोपा अनोभिः स्थविरैरुपेक्षितं
दैवं च नोऽद्य प्रतिकूलमीहते ।। २७ ।।

कठोर हृदय भएका (अनार्द्रधिरेष) कृष्ण रथमा छडी सके। अनि यी मुख गोप (केटा) रथ पछि पछि कुददै छन्। प्रौढहरु पनि केहि गरिरहेका छैनन। आज दैव हाम्रो प्रतिकुल भएको छ।

निवारयामः समुपेत्य माधवं
किं नोऽकरिष्यन् कुलवृद्धबान्धवाः ।
मुकुन्दसङ्गान्निमिषार्धदुस्त्यजाद्
दैवेन विध्वंसितदीनचेतसाम् ।। २८ ।।

(हामीनै) गएर मुकुन्द लाइ रोकौं, जान नदियौं। हाम्रा कुलबृद्धहरुले के गर्छन् र हामीलाई। मुकुन्दको संगत आधा पलको लागि पनि असम्भव छ हाम्रो लागि। दैवं हाम्रो चित्त विध्वंस नै गरायो।

यस्यानुरागललितस्मितवल्गुमन्त्र–
लीलावलोकपरिरम्भणरासगोष्ठाम् ।
नीताः स्म नः क्षणमिव क्षणदा विना तं
गोप्यः कथं न्वतितरेम तमो दुरन्तम् ।। २९ ।।

जसले हामीलाई ल्याएर रासमेलामा अनुराग (प्रेम), स्नेहयुक्त हाँसो, मनोहर वचन, लीलायुक्त दृष्टी र आलिग्नन प्राप्त गरायो, जहाँ हामीले धेरै रात्री बितायौं, र जुन एक पल जस्तो मात्र लाग्दथ्यो। ए गोपी भन त कसरी उनी बिनाको असह्य अन्धकार हामी पार गर्न सक्छौ (कसरी सहन सक्छौ?)।

योऽह्नः क्षये व्रजमनन्तसखः परीतो
गोपैर्विशन् खुररजश्छुरितालकस्रक् ।
वेणुं क्वणन् स्मितकटाक्षनिरीक्षणेन
चित्तं क्षिणोत्यमुमृते नु कथं भवेम ।। ३० ।।

(दुख सहने त् परै जाओस् बांच्न पनि गारहो हुन्छ भन्ने भावमा) जो बेलुकी पख वलराम र साथीहरुसँग आउंदा कपाल र माला गाईका खुर हरुले उडाएको धुलोले छोपिएको हुन्थ्यो, वंसी वजाउदै मन्द मुस्कान र कटाक्षयुक्त दृष्टिले हाम्रो चित्त मोहित गर्थे, ति कृष्ण बिना हामी कसरी जीउन सक्छौं?

संक्षिप्त व्याख्याः

यो स्तुति आफैंमा सरल छ अर्थ हेर्दा नै मानवीय संवेग प्रष्टसँग वुझ्न सकिन्छ। त्यसैले यो त्यति धेरै व्याख्या गरिनु पर्ने विषय जस्तो लाग्दैन। तर यहाँ सरल गोपीहरुको सरल भावमा एक दुई गुढ रहस्य छन्। हो, उनीहरु मानवीय स्वरुपमा प्रेम पूर्वक श्रीकृष्ण प्रति प्रिती राखद्छन। रासलीलासम्मका उनीहरुको प्रिती प्रदर्शन र भगवान प्रतिको समर्पर्ण जसरि सिङ्गो सामाजिक रिती विरुद्ध देखिन्थ्यो, यहाँ त्यसको उच्चतम स्वरुप देख्न पाइन्छ। जान लागेका कृष्णलाई रोक्न अब त उनीहरु कुलबृद्ध हरुको अगाडि पनि संकोच मान्दैनन्। उनीहरु भन्छन्ः

निवारयामः समुपेत्य माधवं
किं नोऽकरिष्यन् कुलवृद्धबान्धवाः । (हेर्नुस् माथिको श्लोक २८ )
(हामी नै गएर मुकुन्दलाई रोकौं, कुलबृद्धहरुले हामीलाई के नै गर्छन् र ! )

गोपीहरु यँहा भगवानसँगको प्रिती पहिलो पटक समाजकै अगाडि निर्धक्क प्रदर्शन गर्दछन्, किनभने गोपीहरुले प्रस्टै भन्छन्ः वंसी बजाउंदै मन्द मुस्कान र कटाक्षयुक्त दृष्टिले हाम्रो चित्त मोहित गर्थे, ति कृष्ण बिना हामी कसरी जीउन सक्छौं? (हेर्नुस् श्लोक ३० )

अर्को ध्यान योग्य पक्ष होः भगवान असंग हुनुहुन्छ। त्यो भगवानको एउटा गुण हो। गोपीहरुसँग भगवान नाच्नु हुन्छ, सबै सँग एकै चोटी नाच्नु हुन्छ सबैसंग । तथापि त्यो भक्तहरुको मनोरथ पुरा गर्ने लीलामात्र हुन्, भगवान असंग रहनु हुन्छ, तर यत्रतत्र रहनुहुन्छ, सर्वव्यापी हुनुहुन्छ। अनि त् गोपीहरु भन्छन् निः

अनार्द्रधीरेष समास्थितो रथं (कठोर हृदय भएका कृष्ण रथमा चढिसके, हेर्नुस् श्लोक २७) भगवानका अगाडि त नारदजीले भने जस्तै आगामी कार्यभार छन्, मथुराको यात्रा र अवतारका अन्य प्रयोजन पनि पुरा गर्ने संकल्प छन्। तथापि भक्तहरु सधैँ भगवानका हृदयमा रहिरहन्छन्।

त्यसैले त मथुरामा स्थायित्व भएपछि फेरी उद्धवजीलाई पठाउनु हुन्छ गोप–गोपाङ्गनालाई भेट्न आफ्ना समाचारसहित। आउने स्तुति भ्रमर गीत यसै सँग सम्बन्धित आह्लादिनी गीत हो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू