सोमबार, ३० जुन, २०२५
11:54 | १६:३९

डा. भगवान कोइरालाको सातै प्रदेशमा अस्पताल बनाउने अभियानमा बेलायतबाट सहयोग

नेपाली लिङ्क जुन २९, २०२५


लन्डन । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला अहिले नेपालका सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल बनाउने अभियानमा जुटेका छन् ।

डा. कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले अस्पताल निर्माण परियोजना अगाडि बढाइरहेको छ ।

कोशी प्रदेशको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ भने काठमाडौंमा अन्तिम चरणमा छ ।

डा. कोइरालाको अभियानमा सहयोग जुटाउन बेलायतका स्वास्थ्यकर्मी र सामाजिक अभियन्ताहरु पनि अग्रसर भएका छन् ।

कयौं सहयोगी संस्थामध्ये एक हो बेलायतको रजिष्टर्ड च्यारिटी संस्था काठमाडौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ पाल्स यूके (केपाल्स यूके) ।

केपाल्स् यूकेको मुख्य उद्देश्य चिकित्सकहरुले प्रदान गर्ने सेवा अझ प्रभावकारी बनाउने उपकरण, सुविधा र स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेर नेपालमा बिरामी बालबालिकाको स्वास्थ्य प्रवर्द्धन र रोगमुक्त गर्नु छ ।

डा. प्रभु अग्रवाल

केपाल्स् यूकेले डा. काइरालाकै एक प्रोजेक्ट दमक अस्पतालमा कार्यरत डा. प्रभु अग्रवाललाई रमफोर्डस्थित क्वीन्स हस्पिटलमा पेडियाट्रीक न्यूरोलोजी फेलोसीप प्रदान गरेको छ । फेलोसीपका लागि गत १८ मेमा बेलायत आएका डा. अग्रवाल ८ सातापछि नेपाल फर्कने कार्यक्रम छ ।

‘पेडियाट्रिक न्यूरोलोजी फेलोसीपका लागि हामीले डा. अग्रवालको खर्चसहित सम्पूर्ण व्यवस्थापन गरेका हौं । हामीलाई विश्वास छ यहांको ज्ञान सिकेर उहांले दमक अस्पतालमा सदुपयोग गर्नु हुनेछ’, एकजना ट्रष्टी डा. दुर्गा सिग्देलले भने ।

केपल्स यूके डा. कोइरालाको अभियानमा एक हिस्सा बन्न पाउंदा आफूहरुलाई खुशी लागेको पनि डा. सिग्देलले बताए ।

कोष अभिवृद्धिका लागि नेपाली मेलामा स्टल राख्ने र यही वर्ष च्यारिटी डिनर पनि गर्ने योजना रहेको उनले सुनाए ।

रम्फोर्ड क्वीन्स अस्पतालमा कार्यरत डा. सिग्देलले केपाल्स् यूकेले भविष्यमा पनि फेलोसीप, मेडिकल वेवीनार जस्ता आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू