शनिबार, ५ जुलाइ, २०२५
20:54 | ०१:३९

तमुधिं यूकेको निम्तोमा बेलायत आउंदै कुलमान, नेपाली मेलामा विशिष्ट अतिथी

नेपाली लिङ्क जुलाइ ५, २०२५

लन्डन । तमुधिं यूकेको निम्तोमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ बेलायत आउने भएका छन् ।

आगामी २४ अगस्टमा हुने नेपाली मेलामा घिसिङ विशिष्ट अतिथी रहने तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । ‘नेपाली मेलामा एकजना लोकप्रिय प्रशासक घिसिङज्यूको उपस्थितिले सिंगो मेलाको रौनक बढ्ने आशा गरेका छौं’, तमुधिं यूके अध्यक्ष गुरुङले भने, ‘उहांले हाम्रो निमन्त्रणा स्वीकारेर अमेरिका भ्रमणपछि बेलायत आउने निश्चित भएको छ ।’

नेपाली मेलाको १६ औं संस्करण केम्पटन पार्क रेसकोर्समा हुंदैछ । यसलाई गोर्खा कपपछि अत्यधिक मानिस जमघट हुने इभेन्टका रुपमा लिइन्छ ।

मेलामा नेपाली दूतावास लन्डनको हरेक वर्ष सहकार्य रहंदै आएको छ ।

नेपाली एवं तमु कला संस्कृति, संस्कार, भेषभूषा, रहनसहन संवर्धन, प्रवर्धन र नयां पुस्तामा हस्तान्तरण गर्नु नै मेलाको मुख्य उद्देश्य रहेको तमुधिं यूके उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले बताए ।

‘अहिले हामी मेलाको तयारीमा जुटिसकेका छौं’, संयोजक गुरुङले भने, ‘यसपटक पनि मेलामा नेपाली खाना, हस्तकला, पोशाक, गरगहना, खाद्य सामग्री जस्ता विभिन्न नेपाली उत्पादनका स्टल रहनेछन्। विभिन्न संघसंस्थाको मौलिक झांकी, सांस्कृतिक कार्यक्रम, नाच प्रतियोगिताका विजेतालाई एम्बासडर कप, एनआरएन कप लगायत आकर्षण हुनेछ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू