आइतबार, ६ जुलाइ, २०२५
04:53 | ०९:३८

एनआरएनए यूके अध्यक्षमा गोविन्द खरेलको दावेदारी

नेपाली लिङ्क जुलाइ ५, २०२५

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन नजिकिंदै गर्दा आकांक्षीहरु मैदानमा उत्रने क्रम बढेको छ । कतिपयले क्षणिक चर्चाका लागि घोषणा गर्न हतार गरेपनि अधिकांश नेतृत्व लिन मैदानमा उत्रिएका हुन् ।

यसै सिलसिलामा एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेल अध्यक्षमा उम्मेदवारी दिने निष्कर्षमा पुगेका छन् ।

महासचिव हुनु अघि एक कार्यकाल उपाध्यक्ष र एकपटक इङ्ग्ल्याण्ड राज्य परिषदको सचिव भइसकेका खरेलले अग्रज र साथीभाईहरुको सल्लाह बमोजिम अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको जनाए । ‘एनआरएनए अभियानमा लामो अनुभव रह्यो । अब नेतृत्व तहमा आएर समुदाय र देशका लागि केही गर्ने सोच राखेको हुं’, खरेलले नेपालीलिंकसंग भने ।

एनआरएनए यूकेबीच एकता, वंशजको नेपाली नागरिकता निरन्तरता अभियान, बेलायतवासी नेपालीको सर्वोपरि हित र मातृभूमिको समृद्धिमा प्रवासबाट योगदान नै आफ्नो मूलभूत एजेन्डा रहेको खरेलले बताए ।

खरेल एक बौद्धिक र सालिन अभियन्ता मानिन्छन् । मध्य इङ्गल्याण्डको मिडल्याण्ड्स क्षेत्रमा अवस्थित नटिङ्घम शहरका बासिन्दा खरेल नेपाली समाज नटिङ्घमका पूर्व अध्यक्ष र गुल्मी जिल्ला समाज यूके सल्लाहकार हुन् ।

एनआरएनए यूके कार्यसमितिमा रहंदा पनि प्रचार प्रसार भन्दा नतिजा दिन बढी ‘फोकस’ हुने उनको स्वभाव धेरैले रुचाएका छन् ।

यसअघि राजेन्द्र पुडासैनीले पनि एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

आगामी जुलाई २६ मा तय एनआरएनए यूके निर्वाचनका लागि १३ जुलाई बिहान ९ देखि दिउसो ३ बजेसम्म उम्मेदवारी दर्ता तोकिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू