सोमबार, ३० जुन, २०२५
11:36 | १६:२१

एनआरएनए यूकेमा बने ३ हजार ५ सय ८ सदस्य (सूची)

नेपाली लिङ्क जुन २८, २०२५

लन्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा आगामी सन् २०२५-२०२७ कार्यकालको लागि जम्मा कुल ३ हजार ५ सय ८ सदस्य बनेका छन् ।

सदस्यता आवेदनका लागि निर्धारित समयसीमाभित्र प्राप्त जम्मा ३ हजार ६ सय ८ आवेदनमध्ये रीत पुगेका उक्त संख्याका सदस्यता स्वीकृत गरिएको एनआरएनए यूकेले जनाएको छ ।

शनिबार मध्यरातसम्म उपलब्ध गराइएको अतिरिक्त समयभित्र समेत आवश्यक कागजातहरु पेश गर्न नसक्ने अरु १ सय सदस्यता आवेदन भने स्वतः अस्वीकृत भएका छन्।

आगामी जुलाई २६ मा तय एनआरएनए यूके निर्वाचनमा भाग लिने अधिकार अब यीनै स्वीकृत ३ हजार ५ सय ८ सदस्यले मात्र पाउनेछन् ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, महासचिव गोविन्द खरेल र निर्वाचन समिति प्रमुख रामशरण शिम्खडाद्धारा जारी वक्तव्यमा सदस्यता दर्तासम्बन्धि सबै प्रक्रिया २८ जुन शनिबार मध्यरातबाट समाप्त भएको जनाइएको छ ।

एनआरएनए यूकेले सबै सदस्यहरुलाई स्वागत गर्दै संस्थालाई एकताबद्ध, समावेशी र बलियो बनाउने अभियानमा सबैको निरन्तर साथ र सहभागिता अपेक्षा गरेको छ ।

सदस्यता अभियान सफल पार्न योगदान गर्ने सबै सदस्य, अभियान संयोजक, क्षेत्रीय प्रतिनिधि र स्वयमसेवकहरुलाई धन्यवाद पनि दिइएको छ ।

स्वीकृत सदस्यहरुको विवरण निर्धारित समयभित्रै निर्वाचन समितिलाई बुझाइने जनाइएको छ ।

एनआरएनए यूकेको यसपटकको सदस्य संख्या अघिल्लो कार्यकालको तुलनामा केही कम हो । तर एनसिसीदेखि केन्द्रसम्मको विवाद, विभाजन र कयौं मुद्धामामिलाको श्रृंखलाबीच पनि यो संख्यामा सदस्यता आवेदन आउनुलाई संस्था वृत्तमा सकारात्मक नै मानिएको एनआरएनए यूकेको बुझाइ छ ।

एनआरएनए यूकेका सदस्यहरुको सूची हेर्न यहाँ क्लिक गरेर COUNTRY को ठाउँमा United Kingdom छनोट गर्नुहोस् । (क्षेत्रगत सूची हेर्न उपलब्ध विकल्पहरुबाट एक क्षेत्र छनोट गर्नुहोस् । )

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू