बिहीबार, वैशाख २०, २०८१
18:07 | २२:५२

भूतपूर्व गोर्खा मागमा बेलायतको अझै आलटाल, ‘काउन्टर’ दिन दूतावासमा छलफल

नेपाली लिङ्क अप्रिल ७, २०२४

फाइल तस्बिर

लन्डन । भूतपूर्व गोर्खा माग सम्बोधन गर्ने सवालमा बेलायतको प्रतिउत्तर अप्रत्यासित आएपछि सोको ‘काउन्टर’ दिन दूतावास र गोर्खा प्रतिनिधिबीच छलफल भएको छ ।

शनिबार दिउसो दूतावासमा भएको झण्डै डेढ घण्टा लामो बैठकमा गत २७ मार्चको त्रिपक्षीय वार्ताको समिक्षा र अबको रणनीति के गर्ने भन्ने सम्बन्धमा छलफल भएको हो ।

बैठकमा सहभागी गेसो उपसभापति तथा वार्ता सदस्य धर्म तामाङले गोर्खाका 
ग्रीभेन्सेस् (गुनासा) मा होम अफिसको ३५ बुंदे जवाफ आशा गरेभन्दा फरक भएकाले त्यसमा असहमति जनाउंदै नेपाल सरकार र भूतपूर्व गोर्खाहरुका तर्फबाट ‘काउन्टर’ दिने निर्णय भएको बताए ।

मार्च २७ को वार्ता अगाडि होम अफिसले पठाएको जवाफ चित्तबुझ्दो नभएको गोर्खाहरुको बुझाइ छ । नेपाल सरकारको प्रतिनिधि दूतावास र जी टेन समूहबीच छलफल गरेर असहमति के छन् वा छैनन् त्यसबारे अन्तिम उत्तर दिने निर्णय गरिएको तामाङले बताए ।

उक्त बैठकमा ‘जीटुजी’ वार्ताबाट नै गोर्खाहरुको समस्या समाधान गर्नुपर्ने भएकाले उपलब्धि नहुंदासम्म वार्तालाई निरन्तरता दिनुपर्छ भन्ने निर्णय पनि भएको छ ।

बैठकमा राजदूत ज्ञानचन्द्र आचार्यले २७ मार्चको वार्ता निष्कर्ष नेपाल सरकारलाई पठाइएको जानकारी गराइएका थिए । बेलायतको जवाफबारे पनि नेपाल सरकारले छलफल गरिरहेको राजदूत आचार्यले बताएका थिए ।

उक्त बैठकमा राजदूत आचार्य, सैनिक सहचारी कर्णेल अनुप शाह र द्वितीय सचिव रामबाबु नेपाल तथा जी टेन समूह आवद्ध सत्याग्रहका तर्फबाट लक्ष्मी घिसिङ र विष्णु गुरुङ, मेजर रि. उदयबहादुर गुरुङ, गेसो उपसभापति तथा वार्ता समिति सदस्य धर्मबहादुर तामाङ, नेसा अध्यक्ष केसबहादुर गुरुङ, अनसनकर्तात्रय ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले र बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवानको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू