शुक्रबार, वैशाख २१, २०८१
21:06 | ०१:५१

गुल्मी जिल्ला समाज यूके अध्यक्षमा चारको उम्मेद्वारी, दुई उपाध्यक्षमा एकमात्र उम्मेद्वार

नेपाली लिङ्क अप्रिल ५, २०२४

अध्यक्ष उम्मेद्वारहरु बांयाबाट वरुण भण्डारी, मञ्जु भण्डारी, रुद्र थापा र तारा भट्टराई

लन्डन- सामाजिक कामका हिसाबले बेलायतको नेपाली समुदायमा अग्रणी मानिएको गुल्मी जिल्ला समाज यूकेको भावी नेतृत्व लिन रोचक प्रतिस्पर्धा शुरु भएको छ।  

निर्वाचन समितिले शुक्रबार प्रकाशन गरेको उम्मेद्वारको पहिलो सूचीअनुसार अध्यक्ष पदमा चार र एक सचिवमा दुई जनाको उम्मेद्वारी परेबाहेक अरु सबै पद निर्विरोध भएका छन्। 

अध्यक्ष पदमा वरुण भण्डारी, मञ्जु भण्डारी, रुद्र थापा र तारा भट्टराईको उम्मेद्वारी परेको हो। अध्यक्ष उम्मेद्वारमध्ये थापा वर्तमान महासचिव हुन् भने अरु तीनै जना उपाध्यक्ष हुन्।  

उम्मेद्वारी दर्ताका हिसाबले समाजको भावी अध्यक्षमा विशेष आकर्षण देखिएपनि अन्य पदहरुमा गुल्मेलीहरुको खासै रुचि देखिएको छैन। 

नयाँ कार्यसमितिको उपाध्यक्षका लागि दुई स्थानमा एक मात्र उम्मेद्वारी परेको छ भने महासचिवमा पनि एकल उम्मेद्वारी परेको छ। वर्तमान कार्यसमितिका कोषाध्यक्ष मुकुन्दहरि खराल र सचिव महलाल घिमिरे क्रमश: उपाध्यक्ष र महासचिवमा निर्विरोध भएका छन्।

एक सचिवका लागि भने वसन्त खनाल र राधा खरेलको उम्मेद्वारी परेको छ। त्यस्तै, कोषाध्यक्षमा तेजबहादुर श्रीष र सहकोषाध्यक्षमा डम्मर श्रीषको एकल उम्मेद्वारी परेकाले निर्विरोध भएका छन् ।  

कार्यसमिति सदस्यको ११ ठाउँमा १० जनाको मात्रै उम्मेद्वारी परेकाले सबै निर्विरोध भएका छन्। सदस्यमा उम्मेद्वारी दिनेमा अर्जुन बस्नेत, दीपक थापा मैथाने मगर, गुनबहादुर थापा, कपुर श्रेष्ठ, काशिराम भण्डारी, माया केसी, रामप्रसाद पन्थी, शर्मिला भण्डारी, सुरेश केसी र सूर्यविक्रम केसी छन्।


निर्वाचन समितिका संयोजक फत्त थापाले जारी गरेको सूचनाअनुसार प्रकाशित उम्मेद्वारको नामावलीमा दावीविरोध गर्न अप्रिल ८ तारिख बेलुका ५ बजेसम्म समय दिइएको छ।  

त्यस्तै, अप्रिल १३ तारिख साँझ ५ बजे योग्य उम्मेद्वारको अन्तिम सूची सार्वजनिक गरिनेछ भने आफ्नो उम्मेद्वारी फिर्ता लिन चाहे अप्रिल २९ तारिख साँझ ५ बजेसम्म समय उपलब्ध गराइएको छ।

अप्रिल ३० तारिख उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र मे ५ तारिख निर्वाचन हुने तालिका छ।

समाजको नयाँ कार्यसमिति निर्वाचित गर्ने अधिवेशन आगामी मे ५ मा अल्डरसटमा हुँदैछ। यसअघि कहिल्यै पनि निर्वाचन नभएको कारण अहिले पनि अन्तिम समयसम्म सहमति बन्ला भन्ने आशा धेरैको छ। तर अध्यक्षमा हालसम्मकै बढी चार उम्मेद्वार रहेकाले प्रतिस्पर्धा रोचक बनेको छ ।  

फत्त थापा संयोजक रहेको निर्वाचन समितिमा बालजंग अर्याल र राजेन्द्र श्रेष्ठ सदस्य छन्। समाजका वर्तमान अध्यक्ष वीर बलाल हुन्।  

निर्वाचन समितिको सूचना: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू